राम अवतार चौधरी
चन्द्रौटा (कपिलवस्तु) । थारु समुदायमा हर्षउल्लासका साथ मनाइने माघी पर्वलाई भव्य रुपमा मनाउने गरि कपिलवस्तुमा माघी (खिचडी) महोत्सवको तयारी भइरहेको छ । थारु समुदायको संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विगतका जस्तै यस बर्ष पनि शिवराज, बुद्धभुमि र बाणगंगा नगरपालिकामा माघी महोत्सव हुने तयारी भइरहेको थारु कल्याणकारीणी सभा कपिलवस्तुले जनाएको छ ।
माघ महिनामा मनाउने माघी पर्वलाई थारु जातिले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल यस थारु समुदायले महान पर्व माघीलाई निरन्तरता दिँदै कपिलवस्तुका विभिन्न स्थानमा पर्वलाई भव्य रुपमा मनाउने तयारी गरिरहेको छ । विगत केही बर्ष कोभिडले प्रभावित भएको महोत्सव यस बर्ष पुनः निरन्तरता पाउने भएको समेत थाकसका जिल्ला सभापति उमाशंकर थारुले जानकारी दिए ।
थारु बाहुल्य रहेको जिल्लाको ३ नगरपालिकामा महोत्सव लगाउने तयारी चलिरहेको देखिन्छ । शिवराज नगरपालिकामा पुस ३० र माघ १ करहिया, बुद्धभुमिमा नगरपालिकामा पुस २८, २९ र ३० गते चौवन्न र बाणगंगा नगरपालिकामा माघ २,३ र ४ गते कपिलधाममा महोत्सव आयोजना गरि भव्य माघी मनाउने तयारी भइरहेको थाकस जिल्ला सभापति थारुले बताए ।
शिवराज नगरपालिका, बुद्धभुमि नगरपालिका र बाणगंगा नगरपालिकामा नगरस्तरिय माघी खिचडी महोत्सव सफल पार्न तीन वटै नगरमा क्रमशः इन्द्रबहादुर थारु, सन्तराम थारु र भग्गुप्रसाद थारुको संयोजकत्वमा १०१ मुल आयोजक समिति गठन गरिएको जनाइएको छ । त्यसैगरी माघी पर्वको पूर्वसन्ध्यमा बाणगंगा खिचडी महोत्सवमा माघ २ गते बृहत रक्तदान कार्यक्रमको आयोेजना समेत गरिने महोत्सवको मिडिया संयोजक कमल चौधरी बताए । महोत्सवमा यस बर्ष बयोबृद्धहरुलाई सम्मान कार्यक्रमको आयोजना गरिने बाणगंगा महोत्सवका संयोजक भग्गु प्रसाद थारुले जनाए ।
तीन वटै पालिकाको महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामाग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्षा रहनेछन् । थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । साथै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक तथा आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने समितिका थाकस जिल्ला सचिव जगतदेब थारुले बताए ।