कैलाली । टीकापुरमा जीवन उपयोगी सीप र आत्मरक्षा तालिम सम्बन्धि १३ दिने रुपान्तरण तालिम सम्पन्न भएको छ ।
बाल कल्याण संघ टीकापुर र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त आयोजनामा भएको एकिकृत बाल संरक्षण परियोजना अन्तर्गत रुपान्तरण तालिम कैलालीका ५ वटा पालिकाका किशोरकिशोरीलाई समावेश गरिएको थियो । कैलालीको टीकापुर, भजनी, घोडाघोडी, गौरीगंगा र कैलारी गापा मा रुपान्तरण मोडलमा परियोजना संचालन भैरहेको छ ।
स्थानीय पालिकाहरुको समन्वयमा बाल कल्याण संघले साथी शिक्षकहरु छनौट गरि रुपान्तरण कक्षाहरु संचालन गर्दै आईरहेको छ । तालिम प्राप्त साथी शिक्षकहरुले समुदायका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जीवन उपयोगी सीप, नागरिक सहभागिता, आत्मरक्षा सम्बन्धि कक्षाहरु संचालन गर्नेछन् ।
किशोरावस्थामा आउने विभिन्न शारीरिक, मानसिक, बौद्धिक र सामाजिक परिवर्तनहरूलाई बुझ्न नसक्दा र यस्ता परिवर्तनहरूमा अभिभावकहरूको उचित साथ र सहयोग नपाउँदा किशोरकिशोरीले विभिन्न जोखिमपूर्ण र संवेदनशील परिस्थितिको सामना गर्न बाध्य हुनु परिरहेको छ । अर्कातिर, समाजमा विद्यमान गलत धारणा, परम्परा, मूल्यमान्यता र सोचाइले किशोर किशोरीको समग्र विकासमा असर पुर्याएको पाइएको छ ।
यिनै चुनौतीहरूलाई मध्यनजर गरी नेपाल सरकारले किशोरकिशोरीको समग्र विकासका निम्ति आवश्यक सवालहरूलाई सम्बोधन गर्दै उनीहरूको अधिकारको संरक्षण र सम्बर्धनका लागि “किशोर किशोरीको समग्र विकासका लागि राष्ट्रिय कार्ययोजना २०७०÷७१–२०७४÷७५” तयार गरी, सो कार्ययोजनाको कार्यान्वयन अगाडि बढाएको छ ।
उक्त कार्ययोजनामा समावेश गरिएका विभिन्न सवालहरूमा किशोरकिशोरीको ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्य अनुरुप ‘रूपान्तरण’ तालिम पुस्तिका तयार गरिएको र सोहि अनुरुप बाल कल्याण संघ टीकापुर र वल्र्ड भिजन ईन्टरनेशनल नेपालले उक्त कार्यक्रम सञ्चाल गर्दै आईरहेको कार्यक्रम अधिकृत पदमराज भट्टले बताए ।