हसुलिया । थारु समुदायको बाहुल्यता रहेको कैलालीको कैलारी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ ।
साक्षर घोषणाका लागि सो गाउँपालिकाले मापदण्ड पूरा गरेपछि बुधबार हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा एक समारोहको आयोजना गरी साक्षर गाउँपालिका घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिको साक्षरता प्रतिशत ९५ पुगेमा साक्षर घोषणा सकिने नेपाल सरकारले मापदण्ड निर्धारण गरेको छ । कैलारी गाउँपालिकामा यो उमेर समूहका व्यक्तिको साक्षरता प्रतिशत ९८.६ पुगेको शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले जानकारी दिए । कैलालीमा साक्षर बन्ने पालिकामा कैलारी पाँचौ स्थानीय तह हो ।
शिक्षा समन्वय समितिका अध्यक्षसमेत रहेका कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको साक्षरता घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य वीरमान चौधरी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा उनले कैलारी गाउँपालिकाभित्र चरणवद्ध रुपमा शैक्षिक विकास भइरहेको बताए । गाउँपालिकाभित्र स्मार्ट शिक्षाको सुरुवात भइसकेको उल्लेख गर्दै चौधरीले कोभिड–१९ ले शिक्षा क्षेत्रलाई तहसनहस पारेको धेरै चुनौतीपूर्ण अवस्थामा कैलारी गाउँपालिका साक्षर बनेको बताए । उनले शिक्षालाई साझा बनाएर यसको विकासमा सबै राजनीतिक दल लाग्न आवश्यक रहेको उल्लेख गरे ।
यसैगरी, कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीले गाउँपालिकाले अब रोजगारी सृजना गर्ने शैक्षिक विकासमा जोड दिएको बताए ।
एमालेका जिल्ला सदस्य चन्द्रिकाप्रसाद चौधरीले कैलारी गाउँपालिका साक्षर घोषित हुनु आफैमा उपलब्धी रहेको बताए । ‘तर, हाम्रो शिक्षामा अझै पनि परिवर्तन आइसकेको छैन’, उनले भने । ‘अवस्था पहिले जस्तो थियो, अहिले पनि उस्तै छ ।’
नेपाली काङ्ग्रेसका कैलारी गाउँपालिका उपसभापति सोनुराम चौधरीले कैलारी गाउँपालिका साक्षर हुनु स्थानीय सरकारले गरेको एउटा महत्वपूर्ण कार्य रहेको बताए । उनले विद्यालयमा व्यवस्थापन समिति र शिक्षकबीच द्वन्द्व देखिने गरेको उल्लेख गर्दै त्यसलाई त्यसलाई न्यूनीकरण गर्नतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
यस्तै, माओवादी केन्द्र कैलारी गाउँपालिकाका अध्यक्ष बतासु चौधरीले रोजगारी सृजना गर्ने शिक्षाको आवश्यकता रहेको बताए । जनता पार्टीका केन्द्रीय सदस्य होरीलाल चौधरीले प्राविधिक शिक्षालाई जोड दिनु पर्ने औंल्याए ।
कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, नौ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न शाखाका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो । यसैगरी, साक्षर गाउँपालिका घोषणाको अवसरमा विद्यार्थीले अतिरिक्त क्रियाकलापको प्रदर्शनीसमेत गरेका थिए ।