हसुलिया । कैलालीको थारु बहुल कैलारी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिदैंछ । साक्षर घोषणाका लागि मापदण्ड पूरा गरिसकेकाले कैलारी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्न लागिएको हो ।
कैलारीमा बसोबास गर्ने १५ देखि ६० वर्षसम्म ९५ प्रतिशतभन्दा बढी व्यक्ति साक्षर रहेकाले गाउँपालिकालाई साक्षर घोषणा गर्न लागिएको शिक्षा शाखाका प्रमुख गणेशप्रसाद मिश्रले बताए । उनले पुस ७ गते एक भव्य कार्यक्रम गरेर गाउँपालिकालाई साक्षर घोषणा गर्ने जनाए ।
‘१५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिको साक्षरता प्रतिशत ९५ पुग्यो भने साक्षर घोषणा गर्न सकिन्छ’, उनले भने । ‘कैलारी गाउँपालिकामा यो उमेर समूहको साक्षरता प्रतिशत लगभग ९७ प्रतिशत रहेको छ ।’
यो गाउँपालिकामा आदिवासी जनजाती थारु समुदायको बसोबास बढी रहेको छ । यसैगरी, अन्य पिछडिएका समुदायका मानिस पनि कैलारी गाउँपालिकामा बस्दै आएका छन् ।