११ माघ २०८१, शुक्रबार January 24, 2025

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी पुरा

२४ मंसिर २०७८, शुक्रबार
माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी पुरा

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले आगामी चुनावबाट माओवादी एक नम्बरको पार्टी बन्ने बताएका छन् ।
भोलिदेखि धनगढीमा हुने सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले माओवादी अब २०६४ वरिपरिकै माओवादी बन्ने दिशातिर लम्किरहेको जिकिर गरे ।
‘यो १२ वर्षको बीचमा माओवादीले लडाई, फुट सबै व्यहोरी सक्यो’, इन्चार्ज भट्टले भने । ‘अब हामी अरु पार्टीभन्दा सबैभन्दा बढी सङ्गठित र एकीकृत छौं । त्यसैले आगामी चुनावबाट हामी २०६४ कै वरिपरिमा पुग्छौं ।’
सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका लागि विभिन्न उपसमितिहरुले काम गरिरहेको पत्रकार सम्मेलनमा जनाइएको छ । सम्मेलनको भोलि दिउँसो १ बजे सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा निर्वाचित छ सय र अन्यसमेत गरेर एक हजार १९७ जना प्रतिनिधिको उपस्थिति रहने माओवादी पार्टीले जानकारी दिएको छ । ती प्रतिनिधिले नै २२३ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछन् ।
नेकपा माओवादी केन्द्रको बिहीबारमात्रै बसेको स्थायी कमिटीको बैठकले कार्यसमितिमा पदाधिकारी र सदस्य सङ्ख्या बढाउने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशमा माओवादीको सदस्यता सङ्ख्या ८२ हजार २३० पुगेको जनाइएको छ । माओवादीको अहिलेको सम्मेलनले पार्टीलाई अझ सङ्गठित र सुदृढ बनाउने सम्मेलन रहेको इन्चार्ज भट्टले बताए ।