१३ बैशाख २०८२, शनिबार April 26, 2025

पुस ४ देखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

२४ मंसिर २०७८, शुक्रबार
पुस ४ देखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडौँ । सरकारले पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १८ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन गरिरहेको र त्यस अनुसार नै खोप केन्द्र राखिने महाशाखाका प्रमुख विवेक लालले जनाकारी दिए । यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने विभागको भनाइ छ । यसअघि फाइजर खोपहरु सञ्चालन गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरा रहेका छन् ।
हिजो मोर्डनाको १४ लाख ९८ हजार ८०० डोज खोप आएको छ । यस्तै गत शुक्रबार १ लाख ८८ हजार ४०० डोज खोप नेपाल आइपुगेको छ । आगामी आइतबार १९ लाख डोज खोप आउन लागेको पनि मन्त्रालयले जनाएको छ । यस्तै सरकारले तीन महिना पुरा भएका गर्भवतीहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेको छ । नेपालमा खोप अभाव नभएको भन्दै सरकारले सबैलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन पनि अनुरोध गरेको छ । बिहीबारसम्म नेपालमा कूल जनसंख्याको ३५ दशमलव ७ प्रतिशतले पहिलो र २९ दशमलव ८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।