८ बैशाख २०८१, शनिबार April 20, 2024

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

२० मंसिर २०७८, सोमबार
नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।
दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।
तर कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा छन् । हाल उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको छ ।
२४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस ओमिक्रोन पहिलोपटक पहिचान भएको थियो । यो भेरियन्ट हालसम्म ३५ भन्दा बढी देशहरूमा फैलिइसकेको छ । हालसम्म प्रयोग हुँदै आएको कोरोनाविरुद्धको खोपको प्रभावकारीता ओमिक्रोनमा हुने वा नहुनेभन्नेबारे स्पष्ट भइसकेको छैन । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ ।
विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम छ । छिमेकी मुलुक भारतसहित दक्षिण एशियाका केही देशहरुमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ ।