१० चैत्र २०८१, सोमबार March 24, 2025

हौसलपुरका लागि झोलुङ्गे पुल निर्माणको कार्य सुरु

१८ मंसिर २०७८, शनिबार
हौसलपुरका लागि झोलुङ्गे  पुल निर्माणको कार्य सुरु

कैलाली। कैलालीको विकटमा रहेको हौसलपुर गाउँका स्थानीयका लागि झोलुङ्गे पुल निर्माणको कार्य सुरु भएको छ । सङ्घीय सरकारको आयोजना अन्तर्गत मोहना नदीमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । निर्माणको कार्य शनिबारदेखि सुरु गरिएको छ । कैलारी गाउँपालिका–७ स्थित मोहना नदी पारि रहेको हौसलपुर गाउँ नेपाल–भारत सीमा नजिक पर्दछ । 

हौसलपुर गाउँवासी र सो आसपास गाउँका स्थानीयको समस्यालाई मध्यनजर गरेर सङ्घीय सरकारसंग झोलुङ्गे पुल माग गरिएको कैलारी गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए । उनले पुल निर्माण भएपछि हौसलपुर गाउँका स्थानीयलाईमात्रै नभइ भुईयाँफाँटा, रामपुर, तिघरी, बसन्ता, रतनपुर लगायतका स्थानीयलाई पनि ओहोरदोहोर गर्न सहज हुने जनाए । 

सङ्घीय सरकारको ७५ लाख रुपैयाँ लगानीमा सो ठाउँमा झोलुङ्गे पुल बन्न लागेको हो । नदीमा पुल नभएका कारण हौसलपुरवासी समस्या भोग्ने गरेका छन् । उनीहरु अधिकाङ्श समय डुङ्गाको भरमा ओहोरदोहोर गर्दै आएका छन् । स्थानीय सरकार आएपछि भने सो गाउँमा परिवर्तनको सुरुवात भएको छ । विगतमा राज्यको नजरमा नपरेको उपेक्षित, उत्पीडित हौसलपुरवासीले अत्यावश्यकीय सेवा सुविधा सहज रुपमा पाइरहेको वडा अध्यक्ष चौधरीले बताए ।

सो गाउँको विकासका लागि कैलारी गाउँपालिकाले विशेष अनुदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विगतमा भारतमा आश्रित सो गाउँवासी अहिले बिजुली बाल्न पाएका छन् । गतवर्ष गाउँपालिकाले नेपाली भाषाको तालिम सञ्चालन गरेको थियो । त्यसपछि सो गाउँवासीले धेरथोर नेपाली पनि बोल्न थालेका छन् ।

facebook sharing button
twitter sharing button
messenger sharing button
pinterest sharing button
email sharing button