२५ मंसिर २०८२, बिहीबार December 11, 2025

थारू चलचित्र ‘बहौरिया’को छायांकन सुरू

२७ कार्तिक २०८२, बिहीबार
थारू चलचित्र ‘बहौरिया’को छायांकन सुरू

काठमाडौं, २७ कात्तिक । थारू समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बहौरिया (बेहुली)’ को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ।
चलचित्रको निर्देशन चर्चित निर्देशक परशुराम चौधरीले गरिरहेका छन् भने, ‘फिल्मको कथा पनि उनी स्वयं र रेणु चौधरी ले लेखेका हुन् । नेपाल म्याक्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म रिशन चौधरी र खुश्बु चौधरी ले संयुक्त रूपमा निर्माण गर्दैछन् ।
थारू संस्कृति र पौराणिक जीवनशैलीमा आधारित कथा निर्देशक चौधरीका अनुसार, ‘बहौरिया‘ थारू समाजको पौराणिक अवस्था र आधुनिक समयसम्म आइपुग्दा भएको सामाजिक–आर्थिक रूपान्तरणको कथा हो।

फिल्ममा ४०–५० वर्ष अघिको जमिन्दारी प्रथा, त्यतिबेलाको विवाह प्रणाली, खेतीपाती गर्ने तरिका, समाजमा हुने असमानता र त्यसपछि आएको परिवर्तनलाई मार्मिक रूपमा उतारिएको छ ।
उनी भन्छन्, ‘पहिले जमिन्दार वर्गले दुई–तीन वटा विवाह गर्ने चलन थियो, जसको सामाजिक प्रभाव गहिरो थियो। अहिले त्यस्तो परम्परामा आएको परिवर्तन र समाजले पाएको चेतनाको सन्देश यो चलचित्रले दिनेछ।
फिल्ममा मुख्य भूमिकामा वीर चौधरी र ममता चौधरी रहेका छन्। यी दुई कलाकारले यसै फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा औपचारिक डेब्यु गरेका हुन्। वीर चौधरी कैलालीका चर्चित मोडल हुन् भने ममता चौधरी नवलपरासीकी लोकप्रिय मोडल तथा डान्सर हुन्।
त्यसैगरी फिल्ममा निर्देशक परशुराम चौधरी स्वयम्, रेणु चौधरी, प्रदीप बास्मैत, संगिता चौधरी, मन्जय चौधरी, ज्ञानिसा चौधरी, पुनम चौधरीलगायतका कलाकारहरूको दमदार अभिनय रहनेछ।
कैलालीकी चर्चित गायिका तथा मोडल संगिता चौधरीले पनि यसै चलचित्रमार्फत् अभिनयमा डेब्यु गरेकी छन्। प्राविधिक पक्ष र छायांकन स्थान फिल्मको द्वन्द निर्देशन देव महर्जन ले गरेका छन् भने श्रीङ्गार सोम मंग्राती ले सम्हालेका छन्। सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी ज्ञान चन्द चौधरी ले लिएका छन्।
‘बौहरिया‘को छायांकन कोशी प्रदेशका थारू बस्ती, गाउँ–टोल र पर्यटकीय सुन्दर स्थलहरूमा भइरहेको छ। फिल्मले प्रदेशको मौलिक संस्कृति, पहिचान र जीवनशैलीलाई पर्दामार्फत् उजागर गर्ने उद्देश्य राखेको निर्माण पक्षले जनाएको छ।

रिलिज योजना निर्माण टोलीका अनुसार, फिल्मको छायांकन आगामी तीनदेखि चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ। त्यसपछि पोस्ट–प्रोडक्सन कार्य पूरा गरी चलचित्रलाई देशभरका हलहरूमा एकसाथ प्रदर्शन गर्ने तयारी भइरहेको छ।
निर्देशक तथा कथाकार परशुराम चौधरी भन्छन्, ‘थारू समाजको इतिहास, संस्कृति र परिवेशलाई साँचो रूपमा चित्रण गर्ने प्रयास हो ‘बौहरिया‘।
हामीले पुरानो जीवनशैली, जमिन्दारी प्रणाली र अहिलेको परिवर्तित समाजबीचको अन्तर दर्शाउनेछौं, जसले दर्शकलाई मनोरञ्जनका साथै आत्मपरीक्षणको सन्देश पनि दिनेछ।‘
संक्षेपमा, ‘बौहरिया‘ नेपाली चलचित्रमा थारू समुदायको पहिचान, संस्कृति र सामाजिक परिवर्तनको दस्तावेजका रूपमा आउँदैछ।