धनगढी, १० मंसिर । प्रत्येक वर्ष धनगढीमा आयोजना हुँदै आएको सुदुरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
कैलाली उद्योग बाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन मार्फत तयारी बारे जानकारी गराएको हो । संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको ७० प्रतिशत तयारी पुरा भएको जानकारी दिए ।
१८औं संस्करणको महोत्सवमा व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि स्टल रहने अध्यक्ष कुँवरले बताए । उनका अनुसार महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधिका स्टल रहने छन् ।
३ करोडको लगानीमा १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ । पाँचसय स्टल रहने महोत्सवमा करिब ९५ प्रतिशत स्टल बुक भइसकेका छन् र ५ लाखले अवलोकन लक्ष्य रहेको अध्यक्ष कुवरले बताए ।
संघका महासचिव ओम बिष्टले महोत्सवको तयारी तीव्र भइरहेको भन्दै यस पटक पनि महोत्सवमा शालीन आन्दोलन जारी रहेको बताए । २१ बुँदे माग सहित २१ किलोको माला लगाउँदै आएको संघले १७ वर्षसम्म ५ माग पुरा भएको जनाएको छ । महासचिव विष्टले अप्टिकल फाइबर, सुदूरपश्चिम विश्वविद्यालय लगायतका पाँच माग पूर्ण रुपमा पूरा जानकारी दिए ।
उनले छ वटा माग पूरा हुने क्रममा रहेको र १० वटा माग अझै पूरा हुन बाँकी रहेको जानकारी दिए । गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गर्नुपर्ने, प्रदेश प्रदर्शनी स्थल निर्माण गर्नु पर्ने, सेज स्थापना, चीनसंग जोड्ने नाका खोल्नु पर्ने, प्रदेश साँस्कृतिक संग्रहालय निर्माण लगायतको माग पूरा हुन नसकेको संघले जानकारी दिएको छ ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एकसय रुपैयाँ र फरक क्षमता भएका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको अध्यक्ष कुँवरले जानकारी दिए । उनले महिलाको आर्थिक सामाजिक सशक्तिकरणका लागि प्रति टिकट दुई, संघको विपद् व्यवस्थापन कोषका लागि पाँच र लागु औषध दुव्र्यसनविरुद्धको अभियानका लागि एक रुपियाँ छुट्टयाइने जानकारी दिए ।
मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुनेछ ।