धनगढी, ५ मंसिर । थारु कल्याणकारिणी सभाको २३औं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा प्रेमीलाल चौधरी चयन भएका छन् ।
रुपन्देहीको भैरहवामा यहि मंसिर १, २ र ३ गते भएका महाधिवेशनबाट चौधरीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षका आकांक्षी मिनराज चौधरीलाई महामन्त्रीमा चित्त बुझाउनु परेको छ भने अर्का आकांक्षी देवीप्रसाद चौधरीलाई उपाध्यक्षमा सर्वसम्मत गराइएको छ ।
उता महिला उपाध्यक्षमा रुक्मिणी चौधरी नअटाए आफू कुनै पदमा नबस्ने भनेर उनी बाहिरिएकी छन् । नभए ६ जना उपाध्यक्षमा एउटाको टुंगो लाग्ने थियो ।
यसरी उपाध्यक्ष, सहमहामन्त्री पनि टुंग्याउन बाँकी नै रहेको छ । २ महिला उपाध्यक्षमा सावित्रा चौधरी तथा हरिदेवी चौधरीको नाम मोटामोटी टुंग्याइए पनि रुक्मिणी चौधरीको नाम इन्ट्री भएपछि यो पदको पनि निर्णय हुन सकेन । उपाध्यक्षको ६ जनाको कोटामा उम्मेदवार नै १३ जना रहेको बताइएको छ ।
यसअघिको कार्यसमितिमा प्रेमीलाल महामन्त्री, मिनराज सहमहामन्त्री तथा देवी उपाध्यक्ष थिए । चूर्णबहादुर चौधरी कोषाध्यक्षमा दोहरिने सम्भावना छ । तर, चितवनका राजेन्द्र चौधरीले सोही पदमा दावी गरेकाले मिलाउन बाँकी नै छ ।
पहिलो बैठकले यी सबै पद टुंग्याउने भएको छ । अपवादको रुपमा एकाध जिल्लाबाहेक सबैजसो जिल्लाका केन्द्रीय सदस्य निर्विरोध भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक सूचना जारी गरेको छैन ।