धनगढी, ३० कात्तिक । स्वास्थ्य बीमा पुनः लागु भएपछि कैलालीको गेटा आँखा अस्पतालमा बिरामीको आकर्षण बढेको छ ।
गत भदौं १ गतेबाट सो अस्तालमा स्वास्थ्य बीमा लागु भएको हो । त्यसअघि उपचार गराउन आउने बिरामीको सङ्ख्या घटेको थियो । स्वास्थ्य बीमाका कारण उपचारका लागि बिरामी आउनेक्रम फेरि बढेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिए ।
“एक÷दुई वर्षसम्म बिरामीको सङ्ख्या घटेको थियो”, उनले भने,“यहाँ स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या फेरि बढेको छ ।”
दैनिक साढे पाँच सयसम्म बिरामी ओपिडीमा जाँचका लागि आउने गरेको जनाइएको छ । जसमध्ये धेरैजसो बिरामी स्वास्थ्य बीमा गरेका हुने गरेको बताइएको छ । त्यस्तै, दैनिक १२० देखि १५० जना बिरामीको शल्यक्रिया गर्ने गरिएको छ ।
शल्यक्रिया गराउनेमा ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली रहने गरेको सूचना अधिकारी जोशीले बताए । उनले ओपिडी जाँचमा बढी नेपाली र शल्यक्रिया गराउने बढी भारतीय रहने गरेको जानकारी दिए । भारतको विभिन्न ठाउँबाट आँखाको उपचारका लागि भारतीय नागरिक यो अस्पतालमा आउने गरेका छन् ।
गेटा आँखा अस्पतालमा यसअघि पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको थियो । दुई वर्ष अगाडि सो कार्यक्रम बन्द भएपछि अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या घटेको थियो ।
यसैगरी, सो अस्पतालमा गत आर्थिक वर्ष २०८०÷८१ मा दुई लाख ७६ हजार ७५३ जना बिरामीले ओपिडीमा जाँच गराएका छन् । जसमध्ये २२ हजार ९३ जनाको आँखाको सर्जरी गरिएको सूचना अधिकारी जोशीले जानकारी दिए । त्यस्तै, सोही आर्थिक वर्षमा विभिन्न जिल्लामा आयोजना गरिएको आँखा शिविरमा १२ हजार ८२९ जनाले ओपिडी जाँच गराएका थिए । दुई हजार १८७ जनाको आँखाको शल्यक्रिया गरेको जनाइएको छ ।
यसैगरी, गत आर्थिक वर्षमा ३५९ विद्यालयमा ८१ हजार ६५७ जना विद्यार्थीको आँखा जाँच गरिएको थियो । त्यस क्रममा एक हजार १०५ जना विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको जोशीले जानकारी दिनुभयो । गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो र सुविधा सम्पन्न आँखा अस्पताल हो ।