धनगढी, ३० कात्तिक । हरेक वर्षझै यस वर्षपनि घोडाघोडीमा लवाङ्गी पुजा तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।
घोडाघोडी नगरपालिका–१ मा घोडाघोडी मन्दिर परिसरमा ‘घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव’ हुने भएको हो । ‘हमार संस्कृति हमार पहिचान, संस्कृति जगेर्ना करना हमार अभियान’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सव मंसिर १९ देखि २१ गतेसम्म आयोजना हुनेछ ।
घोरीघोरा नगर भल्मन्सा कार्य समिति र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा हुने महोत्सव बारे शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
लवाङ्गी पुजा तथा महोत्सवका लागि तयारी सुरु गरिएको मूल आयोजक समितिका संयोजक बुधराम चौधरी जानकारी दिए । महोत्सवमा घोडाघोडी नगरपालिका भित्रका १ सय ७३ गाउँका भलमन्सा, गुरुवा र चिराकी सहित स्थानीयहरुको उपस्थित हुने बताईएको छ ।
महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेषभुषा झल्काउने विभिन्न नाचहरू समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा थारु समुदायको पुरानो बर्का नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, मांगर लगायतको प्रस्तुती हुने जनाइएको छ ।
थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखि मनाइँदै आएका छन् । यो पर्वमा विशेष गरी थारु समुदायहरूले नयाँ बाली भित्र्याईसकेपछि उक्त अन्नबालीलाई प्रसादको रूपमा आफ्ना देवी देवताहरूलाई चढाइने गरिन्छ । यसका साथै सोही दिन पञ्चतत्व अर्थात् प्रकृतिको पनि पूजन गरिन्छ ।
लवाङ्गी पुजाको दिन घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलिहरू समेत चढाइने गरिन्छ । बलि दिने कार्यमा थारु लगायत गैर थारु समुदायहरूको पनि बाक्लो उपस्थिति रहने गर्दछ ।