धनगढी, २८ कात्तिक । कैलालीको धनगढीमा शनिबारे महिला उद्यम बजार लाग्ने भएको छ ।
महिलालाई स्वरोजगार बनाउन उद्देश्य सहित धनगढी उपमहानगरपालिकाले मेलाको आयोजना गर्ने भएको हो । आगामी मंसिर १ गतेबाट प्रत्येक शनिबार धनगढी उपमहानगरपालिका–१ पार्क अगाडी शनिबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्ने भएको उपमहानगरले जनाएको छ । मेलाका लागि ३५ वटा स्टल, खानेपानी, विद्युत्, शौचालय, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायतको व्यवस्था गरिन लागेको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूका लागि सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिन लागिएको नगरप्रमुख गोपाल हमालले बताए । उनले भने, ‘धनगढी उपमहानगरपालिकाले विशेष गरेर महिलालाई लक्षित गरेर, महिलालाई स्वरोजगार बनाउने लक्ष्यसहित शनिबारे महिला उद्यम बजारको व्यवस्था गर्न लागिएको छ । यस बजारमा परम्परागत खाना, सीप, उत्पादित बस्तुको बिक्रीवितरण गर्न र खासगरि यो बजार विभिन्न संघसंस्थाले दिएका तालिमबाट सीप पाएका महिलाहरूका लागि हो । यसले सीप भएका महिलालाई घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने छ ।’
बजारमा महिलाहरूले तयार पारेका अचार, ढकिया, माछा, पकौडी लगायत बस्तु किन्न र खान पाइने जनाइएको छ । व्यवसाय सञ्चालन गर्दै आएका महिलालाई भने बजारमा स्थान नदिने जनाइएको छ । घरमा बस्दै आएका र सीप भएका महिलाहरूलाई निःशुल्क अवसर दिने उपमहानगरले जनाएको छ ।
नगर प्रमुख हमालले महिलालाई उद्यमी बनाउने उद्देश्यले शनिबारे बजार सञ्चालनको तयारी गरेको बताए । यसका लागि परिचयपत्र बनाउनुपर्ने छ । अहिले धनगढीका महिलालाई प्राथमिकता दिने र विस्तारै अन्य पालिकाका महिलालाई पनि अवसर दिने नगरप्रमुख हमालले बताए ।
यसका साथै उपमहानगरपालिकाले युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन गर्ने पनि जनाएको छ । धनगढीमा अध्ययनका लागि बसोबास गर्दै आएका युवाहरूका लागि साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्न तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा महिला र दोस्रो चरणमा युवा लक्षित बजार सञ्चालन हुने नगरप्रमुख हमालले बताए ।
धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा भएको पढ्दै कमाउदै कार्यक्रमको कार्यान्वयन गर्ने तयारी भइरहेको हो । युवाहरूले रातिको समयमा व्यापार गर्ने र दिउँसोको समयमा कलेजमा अध्ययन गर्न जाने योजना अनुसार काम थालिएको छ ।