५ बैशाख २०८३, शनिबार April 18, 2026

सुशासन र विकासका लागि ज्ञापनपत्र

२७ कार्तिक २०८१, मंगलवार
सुशासन र विकासका लागि ज्ञापनपत्र

हसुलिया, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) कैलारी गाउँ कमिटीले विभिन्न १९ बुँदे माग सहित कैलारी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
गाउँपालिका भित्र सुशासन तथा विधिको शासन, पारदर्शिता, विकास र समृद्धिका लागि खबरदारी सहित १७ बुँदे ज्ञापनपत्र बुझाएको माओवादी केन्द्र कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरीले बताए ।


गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले ज्ञापनपत्र बुझ्दै सबैसंग सल्लाह सुझावको अपेक्षा राखेका थिए । उनले ज्ञापनपत्रमा उल्लेख भएका अधिकांश बुँदाहरु कार्यान्वयन भएका र अन्य बुँदा पनि कार्यान्वयन गर्ने बताए ।
ज्ञापन पत्रमा संवैधानिक व्यवस्था र स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद ३ अनुसार गाउँपालिकाको काम कर्तव्य र अधिकार अनुसार सुशासन कायम गर्न, हुलाकी सडक अन्तरगत वडा नम्बर ५ को पवेरा देखि कटैनी नदिसम्मको उच्च जोखिमपूर्ण बाटोको सम्बन्धित निकायसंग तुरुन्त समन्वयगरि मर्मत सम्भार गर्न, शैक्षिक सुधारका लागि ठोस नीति तथा कार्यक्रम बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्र्न, गाउँपालिकाको स्थानीय आयस्रोतहरु तालतलैया, घाट, नाका निकासी पैठारी, वनजंगल र अन्य शुल्कमा भइरहेको वेथिति नियन्त्रण तथा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने रहेको छ ।
त्यसैगरी विभिन्न काण्ड तथा मुद्धामा मुछिएकाहरुलाई कानुनी दायरामा ल्याई सम्बन्धित निकायमा अविलम्ब प्रक्रिया अगाडि बढाउनु पर्ने, ठेक्का भएका अधुरा योजनाहरुको ताकेता गरी कार्य अगाडि बढाउनु पर्ने, हुलाकी सडकको वैकल्पिक मार्गको घुराहा नदी पुल मर्मतको लागि बजेटको व्यवस्था, भारतीय सीमा नाकाहरुमा दिनहु हुने अवैध चोरी तस्करी नियन्त्रण र कृिष जन्यवस्तु सहज पैठारीका लागि प्रशासनिक निकायमा पहल गर्न, सुकुम्बासी, मुक्त कमैया, बाढी पीडित लगायत ऐलानी जमिनको जग्गाधनी दर्ता प्रमाण पुर्जा उपलब्ध गराउनु पर्ने, गाउँपालिकालाई विशेष संरक्षित वा थारु स्वायत्त क्षेत्र घोषणा र थारु भाषालाई कामकाजी भाषा बनाउनु पर्ने रहेको छ ।