कैलाली । नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय टीकापुरमा आइतबार राती ढुंगामुढा गर्दै तोडफोड गरिएको छ ।
पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो ।
रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो । ढुंगामुढा गर्ने समूह भित्र भने छिरेन, नभए दोहोरो भीडन्त हुने सम्भावना थियो । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको घोर भ्रत्र्सना गर्ने जनाएको छ ।
पार्टी कार्यालय तोडफोडको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय सदस्य तथा प्रतिनीधी सभा सदस्य पदका समानुपातिक उम्मेदवार इन्दु थारुले सामाजिक सञ्जाल फेसबुकमा लेखिकी छन् :
अपराधीहरूले,
हाम्रो घरमा आगो लगाए ।
लुटपाट र चोरी गरे ।
उल्टै हामीलाई झुठा मुद्दा लगाई
धनगढी र डिल्लीबजार जेलमा कोचे ।
खुट्टामा नेल हातमा हतकडी लगाए ।
शासकहरू फेरी पनि हामीदेखि डराए ।
किनभने तिनले हाम्रो विचार कैद गर्न सकेनन् ।
इन्दु थारुकै पोष्टमा कमेन्ट गर्दै पत्रकार दुर्गाप्रसाद भण्डारीले लेखेका छन, ‘आजको लोकतान्त्रिक युगमा कसैको विचारमाथि बन्देज लगाउन खोज्नु गलत हो, कसैको पनि पार्टी कार्यालयमा ढुंगामुढा गर्नु खेदजनक हो ।’
यसैगरि आशिष रेग्मी पनि कमेन्ट गर्दै लेखका छन्, ‘ढुङ्गामुढा , हत्या हिँसा जस्ता अराजक व्यवहार आजको बहुदलिय लोकतान्त्रिक प्रणालिमा खेदजनक घटना हो ।’
शिवनारायण रानाले पनि खेदपूर्ण घटना भन्दै सामन्तहरुको हर मनस्थितिको उपज हो, जेल, नेल, ढुंगामुडा, धम्क्याउने, तर्साउने गतिविधिले उत्पीडितहरुको आवाज दबाउन सक्दैनन् यीनीहरुको सामना गर्न उत्पीडितहरु एकजुट हुनै पर्दछ……. भनेर कमेन्ट गरेका छन् ।
यहि कात्तिक २३ गते बुधबार दिउँसो नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा पनि तोडफोड भएको थियो । कैलालीको धनगढी उपमहानगरपालिका १७ डुमलियामा बा ११ च ५८६० नम्बरको रोकिराखेको गाडीमाथि तोडफोड भएको थियो । पार्किङ गरी चुनावी कार्यक्रममा गएको बेला कारको सिसा फुटाइएको थियो ।
सो पार्टीकी समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्दु थारु, प्रदेश सभा सदस्यका उम्मेदवार वलबहादुर साउँद, सावित्री चौधरी र थरुहट नेता लक्ष्मण थारु सो कार चढ्दै आएका थिए ।
यता सत्ता गठबन्धनका उम्मेदवारको गाडीमा पनि तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘२’ का सत्ता गठबन्धनका उम्मेदवार अमरबहादुर साउँदको गाडीमा तोडफोड भएको हो ।
घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको बताइएको छ । घोडाघोडी नगरपालिका–५ मा घरदैलो कार्यक्रममा प्रयोग गरिएको से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटाइएको छ ।
गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । उम्मेदवार साउदले भने विपक्षीहरुले नियोजित रुपमा तोडफोड गरेको आरोप लगाएका छन् ।