२ असार २०८१, शनिबार June 15, 2024

मंसिर १० गतेदेखि घोडाघोडी लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव हुने

२४ कार्तिक २०७९, बिहीबार
मंसिर १० गतेदेखि घोडाघोडी लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव हुने

सुखड । हरेक वर्षझै यस वर्षपनि घोडाघोडीमा लवाङ्गी पुजा तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।
घोडाघोडी नगरपालिका–१ मा घोडाघोडी मन्दिर परिसरमा ‘घोडाघोडी लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव’ हुने भएको हो । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा अगामी मसिंर १० गतेदेखि १२ गतेसम्म उक्त महोत्सव आयोजना हुने भएको हो । बिहीबार सुखडमा पत्रकार सम्मेलन मार्फत सांस्कृतिक महोत्सव बारेज जानकारी गराइएको छ ।
लवाङ्गी पुजा तथा महोत्सवका लागि तयारी सुरु गरिएको घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीले जानकारी दिए । महोत्सवमा घोडाघोडी नगरपालिका भित्रका ८२ गाउँका स्थानीयहरुको उपस्थित हुने बताईएको छ ।
महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेषभुषा झल्काउने विभिन्न नाचहरू समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, मांगर लगायतको प्रस्तुती हुने जनाइएको छ ।
थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखि मनाइँदै आएका छन् । यो पर्वमा विशेष गरी थारु समुदायहरूले नयाँ बाली भित्र्याईसकेपछि उक्त अन्नबालीलाई प्रसादको रूपमा आफ्ना देवी देवताहरूलाई चढाइने गरिन्छ । यसका साथै सोही दिन पञ्चतत्व अर्थात् प्रकृतिको पनि पूजन गरिन्छ ।
लवाङ्गी पुजाको दिन घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलिहरू समेत चढाइने गरिन्छ । बलि दिने कार्यमा थारु लगायत गैर थारु समुदायहरूको पनि बाक्लो उपस्थिति रहने गर्दछ ।