कैलाली । प्रतिनिधिसभाको आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ लाई पनि धेरैले चासोका साथ हेरिएको छ । खासगरि क्षेत्र नम्बर ५ मा हेविवेट तथा प्रभावशाली उम्मेदवार प्रतिस्पर्धामा उत्रेका कारणले पनि चासोका साथ हेरिएको हो । यहाँ सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुस्कर नाथ ओझा मुख्य प्रतिस्पर्धामा रहेका छन् ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका नारदमुनि राना पुनः उम्मेदवार बनेका छन् ।
रानाविरुद्ध आरजु नै उम्मेदवार बन्ने चर्चा भए पनि उनी अन्तिम समयमा समानुपातिकमा बसिन् । आरजुको ठाउँमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसले डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ । पन्त २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यता कांग्रेसको विद्रोही नेताको रुपमा चिनिएका पुष्करनाथ ओझा र जगदीश चौधरी स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा होमिएका छन् । २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली निर्वाचन क्षेत्र नं. ६ छोडेपछि भएको उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका थिए । तर २०७४ को निर्वाचनमा टिकट नपाएपछि आरजुलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले ओझालाई कारवाही गरेपछि उनले यस पटक स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
को हुन् डिल्लीराज पन्त ?
कांग्रेसका नेता समेत रहेका बुबा चेतराज पन्त र आमा हरिप्रिया देवी पन्तको कोखबाट २०१२ फागुन १२ गते डिल्लीराज पन्तको जन्म कैलालीमा भएको हो । २०२९ साल देखि सुरु भएको उनको राजनीतिक जीवन सानैदेखि पञ्चायती व्यवस्थाप्रति वितृष्णा जागेको थियो । धनगढीको पञ्चोदय विद्यालयमा कक्षा १० मा अध्ययनरत रहँदै पञ्चायती शासनविरुद्ध काम गरेको भन्दै उनलाई ६ महिना जेल जीवन भोग्नु परेको थियो ।
जेलबाट छुटेपछि धनगढीमा क्याम्पस नभएकाले उनी अध्ययनको क्रममा भारतको देहरादुन गए । त्यहाँबाटै बीएसम्म अध्ययन गरे । अध्ययनताका नै उनी कांग्रेसका विभिन्न गतिविधिमा संलग्न थिए । पञ्चायती व्यवस्थाको विरुद्धमा अभियान चलाउँथे । देहरादुनमै उनले शेरबहादुर देउवासँग भेट गर्ने मौका पाएका थिए । त्यसपछि उनी नेविसंघको राजनीतिमा सक्रियतापूर्वक लागे ।
पन्त कांग्रेसको राजनीतिक जीवनमा क्रियाशील भए पनि मुख्य जिम्मेवारीबाट वञ्चित हुँदै आएको बताउँछन् । ‘जतिखेर कांग्रेस विभाजन भयो । म संस्थापन पक्षबाट कैलाली जिल्ला समिति सदस्य भएँ । मैले पद लिएको त्यही हो,’ उनले भने, ‘त्यसपछि २०७४ सालसम्म पार्टीको कुनै जिम्मेवारीको पदमा म थिइनँ ।’
२०७४ को निर्वाचनमा प्रदेशसभामा कांग्रेसले उम्मेदवारीको अवसर दिएको र जनताले पनि आफूलाई जिताएको उनको भनाइ छ ।
पन्त आफ्नो संघर्ष, पृष्ठभूमि र आफू खान्दानी कांग्रेस हुनुलाई चुनाव जित्ने प्रमुख आधार रहेको जिकिर गर्छन् । साथै यस क्षेत्रको सामाजिक क्षेत्रमा गरेको कामले पनि जनतामा राम्रो छाप परेको उनको भनाइ छ ।
उनले भने ‘यहाँ सबैसँग परिचित छु । मेरो आफ्नै सामाजिक जीवन छ । ६ वर्ष त्रिनगर माविको अध्यक्ष भएँ । प्लस टुसम्म सञ्चालन गराइयो । आफ्नो जग्गा धितो राखेर विद्यालयको आयस्रोत बढाउन सपिङ कमप्लेक्स बनाएँ । ८ वर्ष रेडक्रस कैलालीको कोषाध्यक्ष भएँ ।’
आफ्नो व्यक्तित्वको प्रभावका अतिरिक्त कांग्रेस देशकै सशक्त पार्टी भएको र त्यसको उम्मेदवार भएकाले पनि आफू विजयी हुने उनको भनाइ छ ।
उनले गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने, गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने, रासायनिक मलको करखाना स्थापना गर्ने एजेण्डा अघि सारेका छन् ।
पुनः दोहोरिने दाउमा नारदमुनि
अहिले प्रतिनिधिसभातर्फ कैलाली–५ मा गठबन्धनको उम्मेदवार बनेका पन्त र कांग्रेस पृष्ठभूमिका स्वतन्त्र उम्मेदवार ओझाबीचको प्रतिस्पर्धाको फाइदा उठाउँदै राना फेरि दोहोरिने दाउमा रहेका छन् । धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमै गठबन्धनको उम्मेदवार पराजित भएजस्तै अहिले पनि प्रतिनिधिसभामा गठबन्धनको उम्मेदवारलाई त्यति सहज छैन । ‘स्वतन्त्र उम्मेदवारी दिएका ओझाका कारण गठबन्धनका उम्मेदवार पन्तलाई निकै सकस छ । राना भने आफूले गरेको कामबाट जनता प्रभावित भएको र त्यही नै जितको आधार भएको दाबी गर्छन् । ५ वर्षे कार्यकालमा धनगढी सिटीलाई मेगा सिटीको रुपमा विकास गर्न आफूले फाउण्डेसनको काम गरेको राना बताउँछन् । आफूलाई यस पटक जिताए समृद्ध मेगा सिटीको रुपमा विकास गर्ने उनको भनाइ छ । उनले राना थारु समुदायलाई आदिवासीमा सूचीकृत गराउन पनि आफूले भूमिका खेलेको बताए ।
को हुन् नारदमुनि ?
२०२९ साल बैशाख १९ गते बुबा रतिराम रानाथारु र आमा सुदामा देवी रानाथारुको कोखबाट धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको मध्यमवर्गीय परिवारमा जन्मेका राना बाल्यकालदेखि नै लगनशील, क्रान्तिकारी स्वभावका हुन् ।
स्कूले शिक्षा धनगढी माध्यमिक विद्यालयबाट लिएका रानाले कैलाली बहमुखी क्याम्पस धनगढीबाट राजनीतिशास्त्रमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।
युवा अवस्थादेखि विभिन्न रचनात्मक गतिविधि तथा वैचारिक कार्यक्रममा बस्न रुचाउने राना क्याम्पस अध्ययनकै क्रममा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय थिए । फलतः २०४५ सालमा तत्कालीन अखिल छैठौंबाट विद्यार्थी राजनीति सुरु गरे ।
२०४८ सालदेखि नेकपा एमाले निकट विद्यार्थी संगठन हुँदै टोल कमिटी, नगर कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीमा आएका उनी नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज छन् ।
उनी २०४६ सालको जनआन्दोलनमा थुनामा समेत परेका थिए । क्याम्पस अध्ययनताका मुलधारको राजनीतिमा होमिइसकेका उनले २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दिए । उक्त निर्वाचनमा उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मनिराम देवललाई भारी मतान्तरले पराजित गरे ।
एमालेबाट २०६४ सालमा समानुपातिकतर्फ संविधानसभा सदस्य बनेका राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । सेती अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्षसमेत रहिसकेका राना शिवनगर खानेपानी आयोजनाको संस्थापक अध्यक्षका साथै निरन्तर १० वर्षसम्म अध्यक्ष भई आयोजनाको काम पूरा गरेर पनि प्रशंसनीय बनेका छन् ।
मत आकलन
धनगढी उपमहानगरपालिकाको पूरै (१९ वडा) र कैलारी गाउँपालिकाको ६ र ९ गरी २ वडा समेटिएको यस क्षेत्रमा एक लाख पाँच हजार ७९३ जना मतदाता रहेका छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मिलाएर यहाँ सत्तारुढ गठबन्धनसँग ३२ हजार ६१९ मत देखिन्छ । नेकपा एमाले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।
२०७४ को निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका राना २७ हजार २०२ मतसहित विजयी हुँदा आरजु राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।
थारु समुदायमा उम्मेदवारका बक्रदृष्टि
यस निर्वाचन क्षेत्रको जनसंख्यामा मुख्य गरी सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट बसाइ सरेर आएका, यहाँका रैथाने थारु र रानाथारु जातिको जनसंख्याले भूमिका खेल्दछ ।
करिब ५० प्रतिशत जनसंख्याको प्रतिनिधित्व यिनै समुदायको छ । यी भित्र करिब १८ हजार रानाथारु र बाँकी थारु समुदायका मतदाता सहित ४० हजार बढी मतदाता रहेको आकलन छ ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा धनगढीको मेयरमा संगठनबिहीन रहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले गठबन्धन र एमालेका उम्मेदवार रणबहादुर चन्दलाई पराजित गरेका थिए । हमालको जितमा मुख्य भूमिका तिनै मतदाताको रहेको स्थानीयस्तरमा चर्चा छ ।
धनगढीमा केही चालायमान मतदाता छन् । जो पार्टीभन्दा व्यक्ति केन्द्रित हुन्छन् । ती चलायमान मतदातासँगै थारु र रानाथारुको मत जसले तान्न सक्यो, उसैको जित सुनिश्चित हुने गर्दछ ।
हाल उम्मेदवारको बक्रदृष्टि ती रैथाने समुदाय र चलायमान मतदातामा केन्द्रित छ । ती मत दलीय संगठनबाट भन्दा पनि उम्मेदवारको भूमिकाबाट अभिप्रेरित र प्रभावित हुने र एकै ठाउँमा जान सक्ने आकलन विगतदेखि गरिँदै आएको छ ।