७ बैशाख २०८१, शुक्रबार April 19, 2024

बाढीको पीडा बुझ्नेलाई बाढी प्रभावित भुरुवाबासीको मत

१६ कार्तिक २०७९, बुधबार
बाढीको पीडा बुझ्नेलाई बाढी प्रभावित भुरुवाबासीको मत

धनगढी । कैलालीको भजनी नगरपालिकाका बाढी प्रभावितले बाढीको दीर्घकालीन समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।
बाढीका कारण उठीबास भएपछि विगत दुई महिनादेखि जङ्गल छेउ र सडकमा त्रिपाल टाँगेर बस्दै आएका बाढीपीडितले आफूहरू बाढीको समस्या समाधान गर्ने जनप्रतिनिधिको खोजीमा रहेको बताएका छन् । भजनी नगरपालिका–९, भुरुवाकी राजकुमारी चौधरी राजीले आफूहरूको समस्या र दुःख बुझ्न कोही उम्मेदवार पनि नआएको दुखेसो गरिन् । उनले असोजमा गएको कहालीलाग्दो बाढीको स्मरण गर्दै भनिन्, “छोरी र म डुब्दै बल्लबल्ल जङ्गल पुगेर बाँच्यो । घर कान्द्रा नदीले बगाइदियो ।”


उनले भनिन्, “हामी त्रिपालमुनि बस्न थालेको दुई महिना पुग्न थालेको छ । तर, हाम्रो दुःख बुझ्न कोही आएनन् । हामी हाम्रो समस्या बुझ्ने नेताको खोजीमा छौँ ।” यस वर्षको दशैँतिहार पनि विस्थापितका लागि ‘हर्ष न विस्मात’ भएको छ । उनीहरूले त्रिपालमुनि चाडपर्व मनाएका छन् । चाडपर्व मनाउनका लागि नगरपालिकाले पहिलो पटक प्रतिपरिवार पाँच केजी र त्यसपछि २५ केजी चामल र नुन, तेल दिएको थियो । जसोतसो पर्व मनाएका विस्थापित चामल सकिएपछि अहिले खाद्यान्न समस्या झेलिरहेका छन् ।
बाढीबाट जसोतसो जोगिए पनि अहिले पेट पाल्न समस्या भएको वडा नम्बर ९ कै विस्थापित विसा चौधरीले बताइन् । उनले भनिन्, “घरमा भएको खाद्यान्न र कमाइ खुवाउने छवटा गोरु बाढीले बगायो । हामी बल्लबल्ल जोगियो तर अरू केही रहेन । अरूले दिएपछि खाने र कपडा लगाउने अवस्थामा पुगेका छौँ ।” कान्द्रा नदी किनारमा घर भएका केही व्यक्तिको जग्गाजमिन नदीले कटान गरिसकेको छ । बाढीले उठीबास भएपछि सुरक्षित स्थानमाको खोजीमा रहेका उनीहरू त्यसका लागि नेताहरूले पहल गर्ने अपेक्षा गरेका छन् ।


सामुदायिक वनमा त्रिपाल टाँगेर बस्दै आएका भुरुवाका जग्गु राजीले आफूहरूको बसोबासको समस्या समाधान गर्ने नेतालाई आगामी निर्वाचनमा मतदान गर्ने बताए । उनले भने, “भएको हाम्रो घरबास जग्गा जमिन नदीले लगिसक्यो । साबिकको पुरानो ठाउँमा अब बस्न सक्ने अवस्था छैन । हामीलाई सुरक्षित बासस्थान चाहियो । यसको व्यवस्था गराउन सक्नेलाई मत दिन्छौँ ।”


कान्द्रा र मोहना नदीले समस्या उत्पन्न गरेपछि वडा नम्बर ९ का लगभग १८ घरपरिवार अझै पनि घर फर्कन नसकी त्रिपालमुनि बस्दै आएका छन् । नदी किनारमा तटबन्ध गरेर पनि आफूहरूको समस्या समाधान नहुने उनीहरूको भनाइ छ । विस्थापितले सुरक्षित स्थानमा बसोबासको व्यवस्था भए मात्रै समस्या समाधान हुने जिकिर गरेका छन् ।
विस्थापित शान्ति डङ्गौराले भनिन्, “आखिर यस्तो कहिलेसम्म ? प्रत्येक वर्ष डुबान हुन्छ, घर भत्किन्छ । हामीलाई तटबन्धन हैन, सुरक्षित बासस्थानको खाँचो छ ।” प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मत माग्न उम्मेदवार र राजनीतिक दलका नेता गाउँघर पस्नेक्रम सुरु भइसकेको छ । उनीहरू जनतासामु विभिन्न प्रतिबद्धता जनाउँदै भोट माग्ने काम गरिरहेका छन् ।