अविनाश चौधरी
धनगढी । कैलालीको भजनी नगरपालिका–७, हिम्मतपुर घाटस्थित मोहना नदीमा डुङ्गा संञ्चालन गरिएपछि दुई देशका नागरिकलाई ओहोरदोहोर गर्न सहज भएको छ । भजनी नगरपालिकालाई राजस्व तिर्ने गरी स्थानीय ठेकेदारद्वारा डुङ्गा सञ्चालन गरिएपछि नेपाल–भारत दुवै देशका नागरिकलाई आउजाउ गर्न सहज भएको हो । उक्त क्षेत्रमा दुवै देशमा थारू समुदायको बसोबास गर्दै आएका छन् ।
वारपार बिहेवारीसमेत भएकाले चाडपर्व मनाउन, किनमेल गर्नलगायतका लागि ओहोरदोहोर हुँदै आएको छ । किनमेलका लागि धेरैजसो नेपाली नै सो घाटमार्फत भारततर्फ जाने गरेको डुङ्गा संञ्चालक खुसीराम चौधरीले बताए । उनले भने, “नजिकै भारतको बेलापरसुआ बजार रहेकाले किनमेलका लागि दिनहुँ मान्छेको आउजाउ भइरहन्छ । चाडपर्वका बेला अझ धेरै मान्छे हुन्छन् ।”
अहिले विभीन्न तरकारीका बिउ विजन खरिद गर्नका लागि धेरैजसो नेपाली सीमावर्ती भारतीय बजार पुगिरहेका छन् । उनीहरू सबै डुङ्गामार्फत नै पारि जाने गरेको चौधरीले बताए । उनले भने, “भजनी, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिकाका मान्छे यो घाट भएर किनमेलका लागि भारतीय बजारसम्म जाने गर्छन् ।” भारतीय नागरिक पनि नेपालमा कपडा खरिदका लागि भजनी, सुखडलगायतका बजारमा आउने गरेका छन् ।
खास गरेर जाडोयामका कपडा खरिद गर्न र चाडपर्व मनाउनका लागि नेपाल आउने गरेको भारतको बेलापरसुआ गाउँका लल्लन कठरियाले बताए । सीमावर्ती नेपाली र भारतीय गाउँवासीबीच पहिल्यैदेखि ‘रोटीबेटी’को सम्बन्ध चल्दै आएको बताएको छ । ओहोरदोहोर सहजताले उनीहरुको सम्बन्ध थप सुमधुर बनेको छ ।
डुङ्गामार्फत ओहोरदोहोर गरेबापत व्यक्ति मात्रैको १० रुपियाँ, साइकलसहित व्यक्तिको २० र मोटरसाइकलसमेत भएमा ५० रुपियाँ नगरपालिकाले नै निर्धारण गरेको शुल्क लिइरहेको डुङ्गा संञ्चालक चौधरीले बताए । उनले भने, “नदीमा पानी बढे वा घटे पनि हामीले लिने शुल्क यत्ति नै हो । शुल्क घटबढ हुँदैन ।
नगरपालिकाले शुल्क निर्धारण गरिदिएको छ । त्योभन्दा बढी वा कम शुल्क लिन पाउँदैनौँ ।” भजनीकै स्थानीय भीम विकले एक वर्षसम्म सो घाटमा डुङ्गा सञ्चालनका लागि एक लाख २५ हजार रुपियाँमा ठेक्का सम्झौता भएका बताउको छ । “दिनभरि उठेको शुल्कबाट पाँच सय ज्याला लिने गर्दछु । बाँकी सबै ठेकेदारलाई बुझाउनु पर्नै हुन्छ ।”