धनगढी। कठिन बाटोको कारण दार्चुलास्थित व्यास गाउँपालिका–१ मा जनगणना गर्न समस्या भएपछि विद्यार्थी संगठनले गणकको लागि हेलिकोप्टरको व्यवस्था गर्न माग गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा विभिन्न राजनीतिक दल आवद्ध विद्यार्थी संगठनले तिंकर र छाङरुसम्म गणकलाई पु¥याउनका लागि हेलिकोप्टरको व्यवस्था गर्न राज्यसंग माग गरेका हुन । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, समानवादी विद्यार्थी युनियन लगायत १० विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै छाङ्रु र तिंकरसम्म गणक पु¥याउन हेलिकोप्टरको व्यवस्था गर्न आग्रह गरेका छन् । यसैगरी, सीमा क्षेत्रका जनतासंगको सोधपुछ, पुराना तथ्य, तथ्याङ्कका आधारमा लिपुलेकदेखि नाभिङ, तिलसी (कालापानी) गुन्जी, नाभी, कुटी, जेलिङकाङ र लिम्पियाधुरासम्मको भू–भाग समावेश गरेर जनगणना गर्न सम्बन्धित निकायसंग माग गरेका छन् ।
भौगोलिक कठिनाइको नाममा पटक–पटक भारतसंग हारगुहार गरेर जनताको शीर निहु¥याउने लज्जास्पद कार्य रोक्न जिल्ला प्रशासन कार्यालय ध्यानाकर्षणसमेत गराइएको छ । छाङ्रु र तिंकरमा जनगणनाका लागि शुक्रबार टोली पैदल हिडेर त्यसतर्फ गएको छ । तर, कठिन बाटो पार गर्न नसकेपछि एक जना गणक फर्किएका छन् ।