हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा लामो अवधिको जन्मान्तरका लागि विभिन्न ठाउँमा तीन दिन आयोजना गरिएको सेटेलाइट क्लिनिक घुम्ती शिविरमा ९२ जनाले सेवा लिएका छन् ।
कैलारी गाउँपालिकाको स्वास्थ्य शाखाले गदरिया स्वास्थ्य चौकी, बनकट्टा आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर १ स्थित मनाउँ आधारभूत स्वास्थ्य केन्द्रमा घुम्ती शिविर सञ्चालन गरेको हो । बुधबार गदरिया स्वास्थ्य चौकीमा सञ्चालन गरिएको घुम्ती शिविरमा ३२ जना महिलाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।
सबैले पाँच वर्ष जन्मान्तरका लागि इम्प्लान्ट सेवा लिएका छन् । यसैगरी, मंगलबार बनकट्टा आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । सो स्थानमा २८ जना महिलाले इम्प्लान्ट सेवा लिएका छन् । शिविरको सुरुवात मनाउँ आधार स्वास्थ्य केन्द्रबाट गरिएको थियो । मनाउमा ३२ जना महिलाले लामो अवधिको जन्मान्तरका लागि सेवा लिएका थिए ।
पाँच वर्षसम्म जन्मान्तरका लागि ३१ जनाले इम्प्लान्ट र १२ वर्षसम्म जन्मान्तरका लागि एक जनाले आइयुसीडी सेवा लिएका जनाइएको छ ।
यसैबीच, कैलारी गाउँपालिकामा आपाङ्ता भएका व्यक्तिलाई बिहीबारदेखि घरदैलोमै गएर कोरोना विरुद्धको खोप प्रदान गर्ने तयारी गरिएको छ । त्यसको उद्घाटन वडा नम्बर ७ बाट गरिने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।