२६ आश्विन २०८१, शनिबार October 12, 2024

दीर्घरोगीलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन अनुरोध

२८ कार्तिक २०७८, आईतवार
दीर्घरोगीलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन अनुरोध

धनगढी । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले दीर्घरोगीलाई सेती प्रादेशिक अस्पतालमा आएर कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउन अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीलाई फाइजर खोप अभियान सञ्चालन गरेसँगै स्वास्थ्य कार्यालय कैलालीले पनि सेती प्रादेशिक अस्पतालमा आएर खोप लगाउन अनुरोध गरेको हो ।
यो अभियान आजदेखि सुरु भएर मंसिर ४ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । १२ वर्षमाथिका लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामीलाई खोप दिइनेछ ।
यस्तै जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी, छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी, अंग प्रत्यारोपण गरेका, कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामीले पनि खोप पाउनेछन् ।
कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका, मस्तिष्क र मष्तिष्कका रक्तनलीसम्बन्धी रोग लागेका व्यक्तिलाई पनि खोप दिन लागिएको हो । कोभिड १९ विरुद्धको अन्य कुनै खोप लगाएका, १२ वर्ष भन्दा कम उमेरका र खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जी भएकाले खोप लगाउन नमिल्ने बताइएको छ ।