१० चैत्र २०८१, सोमबार March 24, 2025

बाढीपीडितका लागि कैलारी गाउँपालिकाद्वारा ३ करोडको खाद्य बैंक स्थापना

४ कार्तिक २०७८, बिहीबार
बाढीपीडितका लागि कैलारी गाउँपालिकाद्वारा ३ करोडको खाद्य बैंक स्थापना

कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले बाढी प्रभावितहरूका लागि ३ करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ ।
बाढीले गर्दा भित्र्याउन लागेको ठूलो मात्रामा धानबालीमा क्षति भएपछि सो गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले खाद्य बैंक स्थापनाका लागि कोष स्थापना गर्ने लगायत निर्णय गरेको हो ।


अध्यक्ष चौधरीले केही विकास बजेटलाई कटौती गरी तत्काल ३ करोड बराबरको रकम सोही कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।
अध्यक्ष चौधरीले भने, ‘हामी अहिले निकै नै दुःखद अवस्थामा छौ । अहिलेको अवस्थाले गाउँपालिकालाई अपुरणीय क्षति भएको छ । हामीलाई निकै पछाडि धकेलेको छ । यसले दूरगामी असर पार्ने निश्चित छ । जसलाई मध्यनजर गरी केही विकास बजेटको रकम खाद्य बैंक स्थापनाको लागि बनाइने कोषमा जम्मा गर्ने निर्णय गरेका छौं ।’
जनप्रतिनिधि र कर्मचारीले १ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकले पनि आफ्नो एक दिनको पारिश्रमिक त्यही कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष चौधरी बताए ।
‘सामाजिक संघ–संस्थाहरूलाई समेत सक्दो सहयोग गर्न अपिल गरेका छौं’, उनले अगाडि थपे, ‘बाढीको क्षतिले गर्दा भोकमरी अवस्था आउन नदिन हामी सो खाद्य बैंकमार्फत खाद्यन्न आवश्यक परेका परिवारजनलाई खाद्यन्न उपलब्ध गराउने छौं ।’

गाउँपालिकाले चालू आर्थिक वर्षमा वडा कार्यालय तथा गाउँपालिका कार्यालयबाट सिफारिश दिएबापत लिने सिफारिश शुल्क समेत मिनाहा गर्ने निर्णय गरेको छ ।
त्यस्तै गाउँपालिकाको सो बैठकले चालू आर्थिक वर्षमा हिउँदे बालीमा शत प्रतिशत अनुदान दिने निर्णय गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
पूरै गाउँपालिका नै बाढीले नराम्ररी प्रभावित भएको र ठूलो मात्रामा धान बालीमा क्षति भएको बताउँदै अध्यक्ष चौधरीले दुःख व्यक्त गर्ने निर्णय समेत भएको बताए ।
त्यस्तै बाढी प्रभावितलाई राहतका लागि प्रदेश र संघीय सरकारलाई राहत प्याकेज ल्याउन आग्रह गर्ने निर्णय भएको अध्यक्ष चौधरीले जनाए ।
कैलारी गाउँपालिकामा धान बाली नै मुख्य बाली हो । आइतबारदेखि परेको अविरल वर्षाले सो गाउँपालिका पनि डुबानमा परेको छ ।