धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले वडामा ज्येष्ठ नागरिकका घरमा सांकेतिक चिन्ह राख्न शुरु गरेको छ । ज्येष्ठ नागरिकलाई एकिकृत सेवा प्रवाहमा सहजता ल्याउन सो सांकेतिक चिन्ह राख्न शुरु गरेको हो । फाया नेपालको सहकार्य, राष्ट्रिय मानवअधिकार आयोग, बेहडा बाबा ज्येष्ठ नागरिक समाजको सहयोग तथा वडा कार्यालयको आयोजनामा शुक्रबार ३१ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सो अभियान शुरु गरेको वडा अध्यक्ष फूलराम चौधरीले बताए ।
उनले ७० वर्षभन्दा माथि उमेर समुहका ज्येष्ठ नागरिकको पहिचान गरि घरमा चिन्ह राखिएको बताए । उनले अधिकाँस मानिसले अक्षरभन्दा सांकेतिक चिन्हबाट बढी जानकारी लिने भएकाले वडा कार्यालयले सो अभियान शुरु गरेको बताए ।
‘शुरुमा हामीले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको घरमा रातो चिन्ह अंकित झण्डा राख्छौं । त्यसबाट आएको सुधारका आधारमा वडा कार्यालयले अन्य उमेरसमुहको पहिचान गरि अन्य सांकेतिक चिन्ह राख्छौं’ उनले भने । वडा अध्यक्ष चौधरीले ६० देखि ६९ उमेरसमुहका घरमा हल्का रातो अंकित झण्डा राख्ने, सुत्केरी तथा गर्भवती महिलाका घरमा सिमित अवधि तोकी हरियो झण्डा राख्ने योजना बताए ।
‘विपद जुन समयमा पनि आउन सक्छ । सो समयमा सबैभन्दा बढी प्रभावित हुने भनेको ज्येष्ठ नागरिक हुन । स्वास्थ्य, सुरक्षित गाँस, अन्य सरकारी सेवा प्रवाह लगायतमा उनीहरु वञ्चित हुन्छन ।’ वडा अध्यक्ष चौधरीले अगाडी थपे‘हामीले ज्येष्ठ नागरिकलाई घरमै सेवा उपलब्ध गराउने सहज होस भनेर सांकेतिक चिन्ह राख्न लागेका हौ ।’ उनले हरेक बालक तथा युवाहरु अन्तिममा ज्येष्ठ नागरिक बन्ने भएकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्न आग्रह गरे ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले नगरका हरेक वडामा एक आवास गृह बनाउने बताएका छन । ‘ज्येष्ठ नगारिकहरु अहिले एक्लो बन्दै गएका छन । बालबच्चा विद्यालय जान्छन । युवायुवतीहरु रोजगारीमा हुन्छन । घरमा उनीहरुको हेरचाह गर्ने कोही हुँदैन’ उनले भने–‘ज्येष्ठ नागरिकको स्याहार तथा सहायता गर्न हरेक वडामा आवास गृह आवश्यक छ । सोही अनुसार मैले वडा अध्यक्षहरुलाई निर्देशन पनि दिइसकेको छु ।’
राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनदेव जोशीले आयोगले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताए । उनले ज्येष्ठ नागरिकले घण्टौंसम्म कुर्नुपर्ने, नागरिकता नहुँदा भत्ता नपाइने, घरभित्रै अवहेलना सहनुपर्ने लगायतका समस्या रहेको बताए । उनले भने–‘ज्येष्ठ नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारले विभिन्न ऐन, कानुन र नीति निर्माण गरेको छ । कुनै बहानामा घर निकाला गरे फौजदारी अपराध अन्र्तगत कारबाहीको पनि व्यवस्था गरेको छ ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले पुर्खौदेखिका सिप, कला, परम्परा, संस्कार, संस्कृति लगायतका कुरा हराउँदै गएको बताए । उनले भने –‘आजका युवायुवतीले ज्येष्ठ नागरिकसंग कुराकानी र अनुभव लिन छाडी सकेका छन । यसले गर्दा हाम्रा पुर्खौका सिप, संस्कृति लोप हुँदै छन ।’ उनले युवायुवतिले आफु पनि ज्येष्ठ नागरिक बन्ने हेक्का राखी उनीहरुको सेवा गरेमा ज्येष्ठ नागरिकले सम्मानजनक रुपमा बाँच्ने बताए ।