धनगढी, १२ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद सुरु गरेको छ ।

यस वर्ष कैलालीको किसानका धान उत्पादन राम्रो भएको बेला खाद्यले कोटा घटाएर धान खरिद गर्न सुरु गरेको छ । गत वर्ष ५५ हजार क्विन्टल कोटा पाएको खाद्यले यसवर्ष ३५ हजार क्विन्टल मात्रै धान खरिद गर्न लागेको हो । खाद्यले आजबाट धनगढीको मोहनपुरस्थित गोदामबाट धान खरिद सुरु गरेको छ ।
यसलगत्तै गौरीगङ्गा, टीकापुर, सत्ती, भजनी र जोशीपुरबाट पनि धान खरिदको कार्य थाल्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख दीपक थापाले जानकारी दिए । उनले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ दशमलव ८१ रुपियाँमा धान खरिद गरिरहेको बताए ।
गत वर्ष सरकारले यस प्रदेशका लागि ५५ हजार क्विन्टल धान खरिद कोटा निर्धारण गरेको थियो । खाद्यले ३४ हजार ५०१ दशमलव ८४ क्विन्टल धान मात्रै खरिद गर्न सकेको थियो । केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले किसानको धान बढीभन्दा बढी खरिदका लागि धान खरिद कोटा बढाएर कम्तिमा तीन लाख क्विन्टल बनाउन अनुरोध गर्ने निर्णय गरेको थियो ।
सो निर्णयसहितको पत्र लेखेर केन्द्रीय कार्यालयमा पठाएको प्रमुख थापाले जानकारी दिए । उनले सरकारले पछि थप कोटा पठाएमा सोहीअनुसार धान खरिद गर्ने उल्लेख गरे ।