धनगढी, १ कार्तिक । कैलारी गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुलाई बहुभाषिका शिक्षण सम्बन्धी तीन दिने पुनर्ताजगी तालिम दिइएको छ ।
कैलारी गाउँपालिका शिक्षा शाखाको आयोजनामा युरोपियन यूनियनको आर्थिक सहयोमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटी, यूनिसेफ, व्रिटिस काउन्सिलको साझेदारीमा किशोरी सशक्तीकरण परियोजना अन्र्तगत गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई बहुभाषिक शिक्षण तालिम दिइएको हो ।

गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको समन्वय र सहकार्य जरुरी रहेको बताइन् ।
उनले भनिन्, गुणस्तरीय शिक्षा भएन, विद्यार्थी फेल भए कम्जोर भए भनेर हामी शिक्षकलाई जनप्रतिनिधिलाई दोष देखाउने गछौं तर हामीले आदर्श अभिभावकको जिम्मेवारी निभाएका छौ की छैनौ एक पटक सोच्नु पर्ने जरुरी रहेको छ । बालबालिकाको भविष्य सुधार गर्न घरपरिवारबाट शिक्षा संस्कारका कुरा सिकाउनु पर्ने देखिन्छ ।
कैलारी गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शैक्षिक असल अभ्यास अपनाएको बताउदै सबैले आ–आफनो ठाउँबाट सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने उनले बताइन् ।
विद्यार्थीलाई जति धेरै भाषा, विधि, प्रविधिबाट शिक्षण गराउन सकियो त्यति राम्रो र सिकाईमा सहजता हुनेपनि उनले बताइन् ।
सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीका कार्यकारी निर्देशक हेमराज जोशी सबै जनाको एक लक्ष्य गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको सिकाई प्रद्धति सहज र सरल बनाउने रहेको बताए । पहाडबाट जनसंख्या तराई झरे जस्तै सामुदायिक विद्यालयबाट विद्यार्थी संस्थागत विद्यालयमा गैरहेको अवस्थामा गुणस्तरीय शिक्षा प्रदानका लागि सबैले अर्जुन दृष्टिका साथ लागुपर्ने बताए ।
तीन दिनसम्म बहुभाषिका शिक्षण सम्बन्धी पुनतर्जगी तालिममा प्रशिक्षण व्रिटिस काउन्सिलका तेज रिमाल, लालझाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले प्रशिक्षण दिएका थिए ।
तालिममा प्रारम्भिक कक्षा १ देखि ३ का बालबालिकाहरुको पठनसीप तथा आधारभूत गणितिय सीप विकास गर्दै सिकाई उपलब्धी बृद्धि गराउने, दिगो सिकाई तथा सहज सिकाईका लागि क्रियाकलापमा आधारित रहेका सिकाई सहजीकरण गर्ने, कौशल कला, बहुभाषिक सिकाई, रणनीतिक अर्थात बालबालिकाको मातृभाषालाई सिकाई सहजीकरणको माध्यमको भाषा बनाएर सिकाउने, स्थानीय स्रोत सामाग्रीको निर्माण र प्रयोग मार्फत सिकाई सहजीकरण विधि प्रक्रिया अपनाइएको थियो ।
तालिम समापन कार्यक्रम सिडिसी डोटीका कार्यक्रम संयोजक तिलक चौधरीले गरेका थिए । तीन दिन भएको तालिममा सिडिसि डोटीका शिक्षा अधिकृत खगेन्द्रराज जोशीलगायत ११ जना शिक्षक, १७ जना शिक्षिका गरि २८ जना सहभागिता रहेको थियो ।