धनगढी, ३१ असोज । कैलारी गाउँपालिकास्थित २५ वटा समुदायिक वन उपभोक्ता समुहमा रहेका महिलाहरुलाई महिला वातावरण रक्षक सम्बन्धी एक दिने क्षमता अभिृवृद्धि तालिम दिइएको छ ।
दलित महिला अधिकार मञ्च कैलालीको आयोजना तथा डिसिएको सहयोगमा रेसिस्ट परियोजना अन्र्तगत समुदायिक वनमा रहेका महिलाहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिइएको मञ्चका कार्यक्रम व्यवस्थापक सृजना पराजुलीले जानकारी दिइन् ।
मञ्चले सामुदायिक वनलाई सहयोग गर्ने उद्देश्यले सुशासन, पारदर्शि, महिला शक्तिकरण, समावेशी, स्रोत बाँडफाँड गर्दा सबैलाई पहुँच योग्य बनाउन जोड दिइहेको उनले बताइन् ।
उनले भनिन्, ‘वन जंगल जोगाउन, संरक्षण गर्न महिलाहरुको भूमिका धेरै हुन्छ । सामुदायिक वन संरक्षण गर्दा धेरै चुनौती आउन सक्छ, महिला वातावरण रक्षक भएकै कारण हिंसा हुनसक्छ ।’
स्थानीय समयन्त्रसँग सहकार्य गरेर जानुपर्ने र कसैमाथि हिंसा भए उद्धार कसरी गर्ने भनेर क्षमता अभिवृद्धि तालिम दिएको व्यवस्थापक पुराजुलीले जानकारी दिइन् ।
कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले महिला भएकै कारण अहिले पनि हेप्ने, चेप्ने गरेको बताइन् ।
नेपालको कानूनमा महिलालाई ३३ प्रतिशत सहभागिताका सुनिश्चित गरेकै आधारमा सहभागिता गराएको तर निर्णायक भूमिकाबाट बञ्चित गराएको बताइन् । महिलाहरु माथि हिंसा बढिरहेकोले अब महिलाहरु एकजुट भएर लाग्नुपर्ने समेत उनले बताइन् । पार्टी जुनसुकै भएपनि महिलाले महिलालाई सहयोग गरिएन भने महिला नेतृत्व तहसम पुग्न नसक्ने समेत उनले स्पष्ट पारिन् ।
कैलारीमा धेरै सामुदायिक वन रहेको तर निर्णाय तहमा थोरै महिला रहेकोले एकभएर नजाँदासम्म अगाडी बढन नसक्ने उनले बताइन् ।
कार्यक्रम संचालन दलित महिला अधिकार मञ्च कैलालीका सहजकर्ता निलु चौधरीले गरेकी थिइन् । कार्यक्रममा मञ्चका रोशनी जैरु, सिमा चौधरी लगायत २५ वटा समुदायिक वनमा आवद्ध रहेका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।