७ फाल्गुन २०८२, बिहीबार February 19, 2026

कैलारी नागरिक अभियानद्वारा पाँच बुँदे ज्ञापनपत्र

२६ आश्विन २०८२, आईतवार
कैलारी नागरिक अभियानद्वारा पाँच बुँदे ज्ञापनपत्र

हसुलिया, २६ असोज । कैलारी गाउँपालिकामा देखिएको ‘बेथिति र भ्रष्टाचार विरुद्ध, सुशासन, समृद्धि र निकासको लागि नागरिक अभियान कैलारी’ ले गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ ।
नागरिक अभियानका संयोजक लखन चौधरीको नेतृत्वमा गएको टोलीले उपाध्यक्ष चौधरीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रको बुँदाहरुमा नौ वटै वडा कार्यालयहरुको सेवा प्रवाह सम्बन्धित वडाहरुबाट ३ दिन भित्र सुचारु गर्नु पर्ने, आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेटमा चालु र पुँजीगततर्फ आवश्यकता भन्दा बाहिर र बिलासिता केन्द्रित बजेट रहेकोले आमजन समुदायको माग र आवश्यकता र प्राथामिकताको आधारमा बजेट संसोेधन गरी विशेष सभाबाट बजेट संसोधन गरी कार्यान्वयन गर्नु पर्ने लगायत रहेको छ ।


त्यसैगरि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ उपदफा ५ बमोजिम सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम आर्थिक वर्षको प्रत्यके चौमासिक गर्नुपर्ने व्यवस्था रहेकोले सोही अनुसार आर्थिक वर्ष २०८०/०८१ देखिको सार्वजनिक सुनुवाई र आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेट तथा वार्षिक कार्यक्रम सार्वजनिकीकरण जनस्तरसम्म गरी सूचनाको हक प्रत्याभूति गर्नु पर्ने, कृषकहरुको धान खरिद बिक्रीका लागि नेपाल सरकारको धान खरिद समर्थन मूल्यमा बिक्री वितरण गर्न तत्काल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडसँग सहकार्य गरी व्यवस्थापन सहित सुचारु गर्नु पर्ने रहेको छ ।


त्यसैगरि गाउँपालिका कार्यालयमा सञ्चालित विभिन्न योजना तथा कार्यक्रममा अनियमितता र भ्रष्टाचारका गन्ध आएका योजनाको आवश्यक छानविनका लागि सम्बन्धित निकायमा पहल गर्ने र पालिकाको गेम चेन्जर योजनाको रुपमा रहेको गुरगी सिचाई योजना, बर्का मुरास्थित सुर्मीनाला पुल, घुराहा नदिको पुल निर्माण योजनाको कार्य अगाडि बढाउन पहल गर्नुपर्ने रहेको छ ।

ज्ञापन बुझाउने टोलीमा पालिकास्थित जेनजी पुस्तासहित नागरिक अगुवा, शिक्षक, सञ्चारकर्मी, बरघर, भलमन्साहरु लगायतको सहभागिता रहेको थियो ।