हसुलिया, १४ कार्तिक । कैलालीको कैलारी गाउँपालिकाका पुष्प व्यवसायी कृषकलाई बजारको समस्या परेको छ ।
खासगरी तिहारमा बढी बिक्रीहुने फूल भारतबाट आउने प्लाष्टिकको फूल तथा मालाले बजारको समस्या सृजना गरेको किसानहरुले बताएका छन् ।
अहिले यहाँका पुष्प व्यवसायी कृषकहरुको बारीमा विभिन्न किसिममा सयपत्रीका फूल ढकमक्क फुलेको छ । सक्षम कृषक समुहकी लक्ष्मी चौधरीले आफ्नो २ कठ्ठा क्षेत्रमा लगाएको फूल ढकमक्क फुलेर तयारी अवस्थामा रहेको बताइन् । तर उनले भारतबाट आउने प्लाष्टिकको फूल र मालाले बजारीकरणमा समस्या पारेको बताइन् ।
उनले भनिन्, –‘मेरो २ कठ्ठामा लगाएको फूल तयारी अवस्थामा रहेको छ । हामीले उत्पादन भएका फूल तिहारमा विक्री गर्ने हो, तर विक्री हुने त्यो पनि ग्यारेन्टी छैन ।’
उनले अगाडी भनिन, ‘भारतबाट प्लाष्टिक फूल र माला खुल्ला रुपमा आइरहेको छ । त्यसलाई रोक्न सके स्थानीय उत्पादनलाई बजारीकरण हुने अनि मेहनत र लगानी अनुसार फाइदा पनि लिन सकिन्छ ।’
दुर्गा कृषक समुहकी सुशिला कठरियाले फूल रोप्ने समयदेखि उत्पादन हुने समय सम्म लगानी बढी भएको तर मेहनत अनुसार फूल विक्री नभएको बताइन् । उनले बोरिङको पानीले सिँचाईमा विद्युत महसुल धेरै तिर्नु परेको गुनासो सुनाइन् ।
प्रगती कृषक समुहकी अध्यक्ष कमला चौधरीले अहिले प्रति किलो दुई सय रुपियामा फूल विक्री गर्न बाध्यता रहेको सुनाइन् । उनले भनिन्, ‘उत्पादन भएको फूल विक्री गरेनौँ भने खेर जान्छ कि भनर चिन्ता हुन्छ, विक्री गरौँ भने, मेहनत अनुसार फाइदा नै छैन ।’
मिलन कृषक समुहकी रामपति चौधरी गत वर्ष उत्पादन भएको फूल प्रति किलो २७५ मा विक्री गरेको सुनाइन् । उनले भनिन्, ‘गत वर्ष हामीले २७५ रुपिया प्रति किलोका दरले फूल विक्री गरको थियोँ तर अहिले २०० मा विक्री गर्न बाध्य छौँ ।’
गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी स्थानीय पुष्प व्यवसायीहरुले उत्पादन गरेको फूलको बजारीकरण गर्ने स्थानीय सरकारको दायित्व रहेको बताउँदै उनले भारतबाट आउने प्लाष्टिकको फूल र माला प्रतिवन्ध लगाउने बताए ।
गाउँपालिकाकी उपाध्यक्ष भगवती कुमारी चौधरीले पुष्प खेतीतिर महिलाहरुको आर्कषण बढेको बताइन् ।
सहास नेपालका परियोजना अधिकृत सौरव भण्डारी कृषक समूहलाई पुष्प खेतीका लागि सयपत्री फूलको विउ र प्राविधिक सहयोग गरेको बताए ।
कैलारी गाउँपालिकाको तीन वडामा पाँच वटा कृषक समुहले सामुहिक पुष्प खेतीको सुरुवात गरेका छन् । सहास नेपालको सहयोग र कैलारी गाउँपालिकाको समन्वयमा वडा नम्बर ४ असिना टोलको सक्षम कृषक समुहले २ कठ्ठा, कैलारी–४ को प्रगती कृषक समुहले ३ कठ्ठा, वडा नम्बर ४ को मिलन उन्नती कृषक समुहले डेढ, वडा नम्बर ७ को तुल्सी जारी कृषक समुहले १ र वडा नम्बर ३ रहेको दुर्गा कृषक समुहले २ कठ्ठामा लगाएको सयपत्री फूल तयारीमा अवस्थामा रहेको जनाएको छ ।
यसै बिच प्लास्टिकजन्य फूल मुक्त पालिका घोषणा अभियानलाई सफल बनाउनका लागि ७ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त सात बुँदे प्रतिवद्धतामा वातावरणमैत्री फूलको प्रयोगको अभिवृद्धि र प्लास्टिकजन्य फूला प्रयोगमा रोकथाम गरि प्लास्टिकजन्य फूल मुक्त पालिका घोषणा गर्ने, स्थानीय तहको नीति तथा कार्यक्रममा पुष्प खेतीलाई प्रथामिकता दिने, विपन्न तथा सिमान्तकृत समुदायको जीविकोपार्जनको आम्दानीको स्रोतको रुपमो विकास गरि स्वदेशी फूल उत्पादनमा वृद्धि तथा उपभोगमा आत्मा निर्भर बनाउने लगायतको रहेको छ ।