धनगढी, १३ कात्तिक । बाल संरक्षणका सवाललाई लिएर यहाँका सरोकारवाला निकायहरु चिन्ता व्यक्त गरेका छन् ।
सिविन नेपाल धनगढीको आयोजनामा धनगढीमा भएको ‘बालबालिका सम्बन्धी नीति २०८० र कार्यान्वयन’ र ‘बालअधिकार संरक्षण र प्रवद्र्धनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरु चिन्ता व्यक्त गरेका हुन् ।
बाल अधिकारका संरक्षणमा आवश्यक नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन नभएर समाजमा बाल विवाह, छाउपडी, बालयौन दुव्र्यवहार, बेचबिखन, श्रमशोषण, शारीरिक तथा मानसिक समस्याहरु विकराल रुप लिएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका थिए । साथै उक्त सवाल सम्बोधनका लागि बालिका सम्बन्धी योजना तथा कार्यक्रम सम्पूर्ण निकायमा एकरुपता हुनु पर्ने पनि औँल्याएका थिए ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी बाल संरक्षणका समस्या तथा सवाललाई लिएर चिन्ता व्यक्त गरेकी थिइन् । साथै उनले उक्त समस्या तथा सवाल सम्बोधनका लागि घरपरिवार, तीनै तहका सरकार र सरोकारवाला निकाय जिम्मेवार हुनु पर्ने र बालबालिकाहरुमा लगानी गर्नु पर्ने औँल्याएकी थिइन् ।
त्यसैगरी उनले सरकारी तथा गैरसरकारी निकाय र बालबालिकाको क्षेत्रमा काम गर्ने सबै निकाय एकआपसमा समन्वय सहकार्य गरि अगाडी बढ्नु पर्ने पनि बताएकी थिइन् ।
फाया नेपालका अध्यक्ष गोमा आचार्य समाजमा बढ्दै गएको बालबालिकाहरुको समस्यालाई सम्बोधनका लागि सरकार जिम्मेवार हुनु पर्ने बताएकी थिइन् । उनले संघ, प्रदेश र स्थानीय सरकार सहित महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सम्पूर्ण निकाय एकजुट भएर अगाडी बढ्नु पर्ने बताइन् ।
सिएसएसडीका क्रिम चौधरीले बालबालिकाहरुको हकअधिकार तथा बालबालिका विरुद्ध हुने लैङ्गिक हिंसा लगायत विषयबस्तु स्कुले पाठ्यक्रममा राख्नु पर्ने बताए ।
कार्यक्रममा सिविन नेपालका सागर भण्डारीले बाल अधिकार सुनिश्चिताका लागि बाल अधिकारका विषयलाई मूल प्रवाहीकरण गर्ने र बालबालिकाहरुको योजना तथा कार्यक्रम सबै निकायमा एकरुपता हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा सिविन नेपालका भगवती श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनीधि, बाल क्लबका प्रतिनीधि लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेका थियो । कार्यक्रमको सहजीकरण सिविन नेपाल कैलालीका कार्यक्रम अधिकृत हरिलाल चौधरी गरेका थिए ।