अविनाश चौधरी
धनगढी, ४ कात्तिक । कर्णाली प्रदेशको डोल्पा, जुम्ला, सुर्खेत र कैलाली हुँदै हजारौँ किलोमिटर उडान भरेर आएका ‘क–याङकुरुङ’ सारस भारततर्फ जान थालेका छन् । उत्तरी एसियाको मङ्गोलिया, रसिया र चीनबाट आएका ‘क–याङकुरुङ’ जाडो यामभरि अस्थायी बसोबासका लागि भारततिर जान थालेका हुन् ।
जाडो छल्नका लागि बसाइँ सरिरहेका ‘क–याङकुरुङ’ कर्णाली प्रदेशको केही जिल्ला तथा तराईका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेको आकाशबाट भारतको राजस्थानतर्फ गइरहेको सजिलै देख्न सकिन्छ ।
असोजदेखि भारततिर जान सुरु गरेको ‘क–याङकुरुङ’ निरन्तर समूह नै बनाई उतै गइरहेको चराविद् हिरूलाल डङ्गौराले बताए । “केही दिनसम्म अझै यिनीहरूको बसाइँसराइ जारी रहन्छ,” उनले थपे ।
उत्तरी देश चीनसहित मङ्गोलिया, रसियामा चिसो सुरु भएपछि त्यहाँ रहेका ‘क–याङकुरुङ’ भारततिर बसाइँ सर्ने गरेको जनाइएको छ । हजारौँ किलोमिटर टाढाबाट आउने यी चरा भारत झर्ने व्रmममा नेपालको माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरेर दुई वटा रुटमा उड्ने गर्छन् ।
मुस्ताङ हुँदै आउने ‘क–याङकुरुङ’ भेरी नदी करिडोर भएर भारततर्फ जान्छन् । डोल्पा हुँदै आएका ‘क–याङकुरुङ’ सारस कर्णाली कोरिडोर भएर भारततर्फ जाने गरेको जनाइएको छ । यो वर्ष कैलालीको भजनी, टीकापुर, कञ्चनपुरको शुक्लाफाँटास्थित तारापुर पोस्ट र बाँके, बर्दिया भएर ‘क–याङकुरुङ’ सारस भारततर्फ गएको डङ्गौराले बताए ।
यी चरा अङ्ग्रेजी अक्षरको भी आकार बनाएर आकाशमा उड्ने गर्छन् । भारततर्फ जाने बेला ‘क–याङकुरुङ’ ले चार हजार ८९६ किलोमिटर उडान भर्ने गर्छन् । जाने बेलाको यात्रा १३ देखि ४० दिन लामो हुने गरेको जनाइएको छ । सो व्रmममा आहाराको खोजीमा तराईका विभिन्न ठाउँमा बास बस्ने गर्छन् ।
जाडो याम सकिन थालेपछि पाकिस्तान, अफगानिस्तान, किर्गिस्तानलगायतका देश हुँदै फेरि यी चरा रसिया, मङ्गोलियाका लागि फर्कने गरेको जनाइएको छ । फर्कने क्रममा ‘क–याङकुरुङ’ को उडान ६५ देखि ६६ दिनसम्मको हुने गरेको छ । यस क्रममा ‘क–याङकुरुङ’ ले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गरेका छन् ।
हजारौँ किलोमिटर उडान भरेर भारततर्फ गएका ‘क–याङकुरुङ’ राजस्थानको खिचनमा पाँच महिनासम्म बिताउने गरेको छ । माघ र फागुनमा फेरि रसिया, मङ्गोलियातिर फर्कने गरेको चराविद् डङ्गौराले बताए ।