२४ कार्तिक २०८१, शनिबार November 9, 2024

प्रदेशको समग्र विकासका लागि ‘प्रदेश लगानी तथा विकास सम्मेलन’ हुने

२ कार्तिक २०८०, बिहीबार
प्रदेशको समग्र विकासका लागि ‘प्रदेश लगानी तथा विकास सम्मेलन’ हुने

कैलाली । सुदूरपश्चिम प्रदेशले प्रदेश लगानी तथा विकास सम्मेलन २०८० आयोजना गर्ने भएको छ ।
आज बसेको मन्त्रीपरिषदको बैठकले कैलालीको धनगढीमा उक्त सम्मेलन गर्ने निर्णय भएको हो । आगामी फागुन २३ र २४ गते दुईदिन आयोजना हुने उक्त सम्मेलन तथा मन्त्रीपरिषदको निर्णयबारे बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले लगानीको वातावरण बनाउन र लगानीको सम्भावना पहिचान गरि प्रदेशको समग्र विकासका लागि सम्मेलन आयोजना गर्न लागिएको बताए ।
‘यो सम्मलेलन, सम्मेलनका लागि मात्र नभएर उपलब्धिमूलक होस, हाम्रो पहलबाट प्रदेशमा केही गर्न सकौँ र लगानीको वातावरण बनाएर लगानीकर्ताहरुलाई पनि यो प्रदेशमा ल्याउन सकौँ’, मुख्यमन्त्री शाहले भने–‘यहाँ भएका कृषि, पर्यटन, उर्जा, पूर्वाधारका क्षेत्र र प्रदेशको समग्र विकासका क्षेत्र र कुन कुन ठाउँमा लगानीका सम्भावनाहरु छन् त्यो लगानीका सम्भावना भएका आयोजनाहरुको पहिचान गर्न पनि सम्मेलनको आयोजना गर्न लागिएको हो ।’
सम्मेलनमा विशेष गरि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुलाई आग्रह गरेर सबैको साथ र सहयोगले लगानीको वातावरण बनाएर अगाडी बढ्ने मुख्यमन्त्री शाहले बताए । सम्मेलनका लागि प्रदेश सरकारले ५० लाख बजेट पनि विनियोजन गरेको जनाएको छ ।