२६ आश्विन २०८१, शनिबार October 12, 2024

कैलारीको मोहना बगरमा हजारौंको सङ्ख्यामा पानी गौथली

२ कार्तिक २०७९, बुधबार
कैलारीको मोहना बगरमा हजारौंको सङ्ख्यामा पानी गौथली

अविनाश चौधरी
धनगढी, २ कार्तिक । कैलालीको मोहना नदी बगरमा हजारौंको सङ्ख्यामा पानी गौथली चरा देखिएका छन् ।
नदी बगरमा पहिल्यैदेखि बसोबास गर्दै आएको पानी गौथली कैलारी गाउँपालिका–३ र ४ को क्षेत्रमा देखिएका हुन । ठूलो सङ्ख्यामा रहेका ती चराहरु तीन वटा झुन्डमा देखा परेको हसुलियाका वाइल्ड लाइफ फोटोग्राफर कुलराज चौधरीले जानकारी दिए ।
‘पानी गौथली तीन वटा झुन्डमा ठूलो सङ्ख्यामा छन्’, उनले भने,‘ती चराहरु दुई वडास्थित नदी बगरमा कहिले यता, कहिले उता गइरहेका छन् ।’ चौधरीका अनुसार अहिले उनीहरुको उडान र बसोबास क्षेत्र वडा नम्बर ३ को निमुवाबोझी र ४ को भितरिया आसपासको मोहना नदी बगर बनेको छ ।
गतवर्ष सोही ठाउँमा तीन हजार ५६४ वटा पानी गौथली देखिएका थिए । यसैगरी, दुई वर्ष अगाडि त्यसै स्थानमा १० हजार ५५३ को सङ्ख्यामा पानी गौथली अभिलेख गरिएको थियो । नेपालको अरु ठाउँमा हालसम्म यति धेरै सङ्ख्यामा पानी गौथली अभिलेख भएका छैनन् । सन १९९० अगाडि दुई हजारको सङ्ख्यामा चितवनको मेघौलीमा यि चरा देखिएका थिए । त्यस्तै, सन २०१२ मा चितवनमा तीन हजार ४६७ पानी गौथली चरा फेला परेका चराको क्षेत्रमा काम गर्ने संस्था पक्षी संरक्षण सङ्घ (बीसीएन) को तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, सन २०१५ मा कोशी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा देखिएका थिए । त्यस्तै, चरा संरक्षणकर्मी राम शाहीले बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौथली चरा अभिलेख गरेका थिए ।
नेपालमा पहिलो पटक काठमाण्डौं उपत्यकामा पानी गौथली फेला परेका थिए । १९ औं शताब्दीमा हडग्सन नामक व्यक्तिले काठमाण्डौंमा पानी गौथली अभिलेख अभिलेख गरेका थिए ।
मोहना नदीमा फेला परेको पानी गौथली नेपालमा हालसम्म भेटिएकामध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको पाइएको चराविद् हिरुलाल डङ्गौराले बताए । ‘यति धेरै सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौथली रेकर्ड गरिएको छैन’, उनले भने,‘यो वर्ष केही महिना अगाडि कम सङ्ख्यामा थिए । अहिले फेरि धेरै भइसकेका छन् ।’
सिमसार क्षेत्रमा बसोबास गर्न रुचाउने यो चरा प्रजाति बर्दिया राष्ट्रिय निकुञ्जस्थित कर्णाली नदीमा पाइन्छन् । यसैगरी, नवलपुरको अरुण खोला, चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदीमा पाइने गरेको बताइएको छ । त्यस्तै, कोशी नदी, दाङको राप्तीमा पनि पानी गौथली पाइने गरेका छन् ।
नेपालमा पानी गौथलीको सङ्ख्या तीन हजारदेखि पाँच हजारसम्म रहेको मानिन्छ । त्यसको एक प्रतिशत पानी गौथली नारायणी, कर्णाली र कोशी नदीको ‘बेसिन’ मा पाइने गरेका डङ्गौरा बताउँछन् । ‘कैलाली पछिल्लो समय अभिलेख गरिएको सङ्ख्या नेपालकै सङ्ख्याभन्दा बढी हो’, उनले भने । बसोबास स्थानको विनाश, नदी क्षेत्रबाट बालुवा र गिट्टी उठाउने कार्यले पानी गौथलीलाई चुनौती थपिदैं गएको बताइन्छ । यस्तै, चोरी सिकार, ब्रिडिङका बेला मानवीय हस्तक्षेप लगायतका कारणले यो चरा प्रजाति लोपको खतरा नजिक पुगिरहेको छ । पानी गौथली मुख्य गरी बालुवा तथा ढुङ्गे नदी र तालतलैयाहरुमा पाइन्छन् ।
पानी गौथली नेपालमा सङ्कटको नजिक पुगेको पक्षी संरक्षण सङ्घले जनाएको छ । यो चरा नेपालसहित भारत, अफगानिस्तान, बङ्गलादेश, भुटान, कम्बोडिया, चीन, मलेसिया, म्यानमार, ओमान, पाकिस्तान, सिङ्गापुर, श्रीलङ्का, युनाइटेड अरब इमिरेट्स, भियतनाम लगायत २० देशमा पाइन्छन् ।

फोटोः कुलराज चौधरी