२६ आश्विन २०८१, शनिबार October 12, 2024

प्रतिनिधिसभामा २ हजार ४७३, प्रदेशमा ३ हजार ३९३ जनाको उम्मेदवारी

२४ आश्विन २०७९, सोमबार
प्रतिनिधिसभामा २ हजार ४७३, प्रदेशमा ३ हजार ३९३ जनाको उम्मेदवारी

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २ हजार ४७३ जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै, प्रदेशसभा सदस्यका लागि ३ हजार ३९३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म भएको मनोनयनपत्र दर्ताका लागि समय दिएको थियो । यस अवधिमा दर्ता भएकामध्ये आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभाअन्तर्गत देशभर २ हजार २४२ पुरुष र २३१ महिला गरी कूल २ हजार ४७३ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
प्राप्त विवरणअनुसार प्रदेशसभातर्फ ३ हजार ९९ जना पुरुष, २९३ जना महिला र १ जना अन्य गरी जम्मा ३ हजार ३९३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारहरूले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयनपत्र दर्ता गरेका थिए ।
उम्मेदवारी दर्ता उत्साहजनक तथा शान्तिपूर्ण भएको आयोगले जनाएको छ । दर्ता भएका उम्मेदवाहरूको सूची आइतबार नै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम छ । सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन तालिका छ ।