कैलाली । कैलालीको कैलारी गाउँपालिकाले किसानहरुको कृषि ऋण मिनाहा लगागयतका माग सहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ ।
शुक्रबार बाढी पीडितहरुको पीडा बुझ्न कैलारी गाउँपालिका वडा नम्बर ७ भुँईयाँफाँटा पुगेका प्रधानमन्त्री देउवालाई गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले ज्ञापनपत्र बुझाएका हुन् ।
विभिन्न बैंक तथा वित्तिय संघसंस्थाबाट किसानहरुले लिएका कृषि ऋण मिनाहा, गाउँपालिकाद्वारा स्थापना गरेको खाद्य बैंकका लागि आवश्यक बजेट विनियोजन, चालू आर्थिक वर्षमा हिउँदे बालीमा शत प्रतिशत अनुदान र तत्काल राहत प्याकेज लगायतका माग सहित अध्यक्ष चौधरीले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।
यसका साथै अध्यक्ष चौधरीले गत असोज ३१ गते देखि भएको बेमौसमी बर्षाका कारण हजारौं बिघा धानबाली गुमाएका पीडित किसानहरुका समस्या तथा पीडा प्रधानमन्त्री समक्ष दर्शाएका थिए । यहाँका किसानहरु कटैनी र मोहना नदिबाट धेरै नै प्रभावित भएकाले उक्त नदिकाबाट हुने क्षति नियन्त्रणका लागि अध्यक्ष चौधरीले सरकारको ध्यानाकार्षण समेत गराएका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बाढीको समस्या समाधानका लागि दूरगामी योजना ल्याईने बताएका थिए । सरकार बाढी पीडितको समस्या समाधानका निमित्त चिन्तित रहेको बताउँदै उनले काठमाडौँ फर्के लगत्तै सरकारले दूरगामी योजनाका बारेमा निर्णय र सम्बोधन गर्ने बताएका थिए ।
कैलारी गाउँपालिकाले बाढी प्रभावितहरूका लागि ३ करोडको खाद्य बैंक स्थापना गरेको छ । बाढीले गर्दा भित्र्याउन लागेको ठूलो मात्रामा धानबालीमा क्षति भएपछि सो गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो ।
यसका साथै गाउँपालिकाले चालू आर्थिक वर्षमा वडा कार्यालय तथा गाउँपालिका कार्यालयबाट सिफारिश दिएबापत लिने सिफारिश शुल्क समेत मिनाहा गर्ने र चालू आर्थिक वर्षमा हिउँदे बालीमा शत प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।
कैलारी गाउँपालिकामा धान बाली नै मुख्य बाली हो । गत असोज ३१ गते देखि भएको बेमौसमी वर्षाले पूरै गाउँपालिका नै बाढीले नराम्ररी प्रभावित भएको र ठूलो मात्रामा धान बालीमा क्षति भएको छ ।