हसुलिया । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा प्रजनन् स्वास्थ्य समस्या भएका १५० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।
कैलारी गाउँपालिकाको स्वास्थ्य शाखा, ओरेक नेपाल र परिवार नियोजन संघ कैलालीको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी महिलाको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा ४५ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबैको पाठेघरको मुख सुरक्षित रहेको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।
यसैगरी, पाठेघर खसेका एक जनाको रिङ हालेर व्यवस्थापन गरिएको र अलिकति गम्भीर समस्या भएका दुई जनालाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको छ । त्यस्तै, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने जस्ता प्रजनन् सम्बन्धी समस्या भएका १०२ जनाको उपचार गरिएको छ ।
कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले उद्घाटन गरेको स्वास्थ्य शिविरमा सेती प्रादेशिक अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. प्रतिक्षा सिंह राठौरले स्वास्थ्य चेकजाँच गरेकी थिइन् ।
गाउँघरका महिलालाई विभिन्न स्वास्थ्य समस्या रहेको र आर्थिक कारणले उनीहरु अस्पतालसम्म पुग्न नसक्नेले शिविर सञ्चाल गरेको ओरेक नेपालकी कार्यक्रम अधिकृत गीता चौधरीले बताइन् ।
कैलारी गाउँपालिका स्वास्थ्य शाखा, ओरेक नेपाल र परिवार नियोजन संघको संयुक्त आयोजनामा भएको शिविरमा परिवार नियोजनका टिम र कैलारी गाउँपालिकाका स्वास्थ्यकर्मी खटेका थिए । शिविरमा जिल्ला स्वास्थ्य कार्यालयका नर्सिङ निरीक्षक रमा गिरीको पनि उपस्थिति रहेको थियो ।
अर्को चरणमा कैलारीको वडा नम्बर ७ र ९ का विकट क्षेत्रलाई लक्षित गरेर शिविर सञ्चालन गरिने सापकोटाले जनाए । सो गाउँपालिकाको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट नियमित रुपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण हुँदै आएको छ ।