२२ भाद्र २०८१, शनिबार September 7, 2024

यातायात व्यवस्था कार्यालय धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

१० आश्विन २०७८, आईतवार
यातायात व्यवस्था कार्यालय धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

धनगढी । यातायात व्यवस्था विभागले २९ बर्षपछि यातायात व्यवस्था ऐन लागु गर्ने निर्णय गरेसंगै सुदूरपश्चिममापनि सो निर्णय लागु भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण सुरु भएको हो । सो चालक अनुमतिपत्र वितरण सुरु भए संगै १ बर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता पनि अन्त भएको छ ।
आज आईतबार एक कार्यक्रमका बिच प्रदेशकी भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरीले परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण कार्यको शुभारम्भ गरेकी हुन् । परीक्षणकालीन सवारी चालक अनुमतिपत्रको शुभारम्भ गर्दै राज्यमन्त्री चौधरीले अब चिट बोक्नुपर्ने बाध्यताको अन्त्य भएको बताइन् ।


बाटोमा चेकिङ हुने र त्यसका लागी चिट बोक्नुपर्ने थियो राज्यमन्त्री चौधरीले भनिन् ‘पानीले भिज्ने, हराउने झन्जटबाट मुक्ति पाइएको छ, यसमा प्रदेश सरकारले पूर्ण सहयोग गरेको छ ।’
एक बर्ष म्याद भएको सो अनुमतिपत्र क्यु आर प्रबिधिबाट जाँच गर्न मिल्ने जनाइएको छ । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमति पत्रका लागि १ बर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परिक्षणकालिन अनुमतिपत्र वितरण शुरु भएसंगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ ।


ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेको भएपनि बिचमा करिब ३० बर्ष परीक्षणकालीन लाइसेन्स वितरण बन्द गरिएको थियो । चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको जनाइएको छ । यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले सवारी तथा यातायात व्यवस्था ऐन, चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा उत्तीर्ण भएकालाई लाइसेन्स दिने व्यवस्था गरेको बताए ।
परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरेको उनले बताए । १ बर्षे अवधीभर ५ वटा गल्ती गरेमा लाइसेन्सनै खारेज हुने व्यवस्था गरिएको शाहले बताए । अब लाइसेन्सको परिक्षा पास गरेको १ सातामै परिक्षणकालिन अनुमतिपत्र लिन सकिने यातायात कार्यालय जनाएको छ ।