५ बैशाख २०८३, शनिबार April 18, 2026

चाडपर्व लक्षित धनगढीमा सुपथ मूल्य पसल सञ्चालन

१ आश्विन २०८२, बुधबार
चाडपर्व लक्षित धनगढीमा सुपथ मूल्य पसल सञ्चालन

धनगढी, १ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
आमउपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो । धनगढीमा सोमबार एक कार्यक्रमका बीच खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी प्रमुख दीपक थापाले पसलको उद्घाटन गरेका थिए ।


दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई सहज र सहुलियत दरमा उपलब्ध गराउन कम्पनीले धनगढी मेनबजार स्थित बिक्री कक्ष, मोहनपुर गोदाम र प्रदेशको २८ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याइएको छ ।
सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामलमा प्रतिकेजी रु पाँच रुपिया छुट पाउनेछन् । उपभोक्ताले अरुवा मोटा चामल प्रति केजी ६२ रुपिया पर्नेमा सहुलियत पसलमा छुट पछि प्रतिकेजी ५७ रुपिया र २५ केजीको बोरा रु. एक हजार ४२५ मा किन्न पाउनेछन् ।


प्रतिकिलो रु. ८८ रहेको स्टिम जिरा मसिनो चामल छुट पछि प्रतिकिलो रु. ८३ रुपियामा र २५ केजीको बोरा रु. २ हजार ७५ रुपियामा किन्न पाउने कम्पनीले जनाएको छ । साथै प्रति किलो रु. १०० रुपिया पर्ने चिनी ५ रुपिया छुट पछि प्रति किलो रु. ९५ रुपिया पर्ने कम्पनीले जनाएको छ ।
नेपालीको प्रमुख चाड दसैँ, तिहार र छठका समयमा खाद्य वस्तुको माग अत्यधिक हुने र सो समयमा गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने वातावण तयार गर्ने उद्देश्यले कम्पनीले हरेक वर्ष चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याउने गर्दछ ।