२७ आश्विन २०८१, आईतवार October 13, 2024

एभरेष्ट एकेडेमीले प्रस्तुत गरेको ‘तेरी खान्या कोरोना’ लाई उत्कृष्ट नाटकको उपाधि

९ आश्विन २०७८, शनिबार
एभरेष्ट एकेडेमीले प्रस्तुत गरेको ‘तेरी खान्या कोरोना’ लाई उत्कृष्ट नाटकको उपाधि

कैलाली । काठमाडौँमा सम्पन्न भएको पहिलो एस.जी. राष्ट्रिय एकल नाटक महोत्सवमा अत्तरिया स्थित एभरेष्ट एकेडेमीले प्रस्तुत गरेको नाटक ‘तेरी खान्या कोरोना’ ले उत्कृष्ट नाटकको उपाधि जित्न सफल भएको छ ।
उक्त नाटकमा एभरेष्ट एकेडेमीकै कक्षा दशका विद्यार्थी हेमन्त भट्टको अभिनय रहेको थियो भने नाटकको लेखन तथा निर्देशन पुष्पराज अवस्थीले गरेका थिए । अवस्थी विगत लामो समयदेखि काठमाडौँमा रङ्गमञ्च तथा विभिन्न टेलिसिरियल तिर सक्रिय रुपमा काम गर्दै आईरहेका छन् ।


देशभरीबाट करिब २ सय ५० को हाराहारीमा नाटकहरु प्रतिस्पर्धाका लागि आएका थिए जसमध्ये ३० वटा नेपाली र १६ वटा अन्तराष्ट्रिय नाटक मञ्चनका निमित्त छनौट भई ति मध्य ३ वटा नाटक उत्कृष्ट नाटकको रुपमा पुरस्कृत भएका थिए । जुन ३ वटा मध्ये एभरेष्ट एकेडेमीको नाटक पनि एक रहेको थियो । कोरोनाले गर्दा विद्यार्थीहरुमा परेको असरका बारेमा विषयवस्तु समावेश गरेर नाटक निर्माण गरिएको थियो । नाटकमा सेट तथा लाईटमा सुनिल पन्त र दिपक भट्टराईले सहयोग गरेका थिए ।
भाद्र २० गतेबाट शुरु भएको नाटक महोत्सवमा नाटकहरु भर्चुअल विधिबाट मञ्चन भएर असोज ९ गते भौतिक रुपमा नै एक कार्यक्रमको आयोजना गरी नतिजा प्रकाशन गर्दै महोत्सव समापन भएको थियो । यस एकल नाटक महोत्सवको आयोजना स्वस्थीश्री गुरुकुलले गरेको थियो भने महोत्सवका संयोजक रङगकर्मि टंक चौंलागाई रहेका थिए ।
नाटकमा यो उपलब्धि एभरेष्ट एकेडेमीका लागि पहिलो भने होईन । यो भन्दा पहिले गत फागुनमा पनि नेपाल सगिंत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, शैली थिएटर र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रद्वारा सयुक्त रुपमा आयोजना गरिएको १२औं राष्ट्रिय बाल नाटक महोत्सवमा पनि एभरेष्टकै प्रस्तुती र निर्देशक पुष्पराज अवस्थीको लेखन तथा निर्देशन रहेको नाटक ‘भुमिका’ ले पनि उत्कृष्ट नाटकको उपाधि जित्न सफल भएको थियो । यसरी एभरेष्ट एकेडेमीले विगत तिन वर्षदेखि विभिन्न राष्ट्रिय नाटक महोत्सवमा प्रतिनिधित्व गरी विभिन्न उपलब्धि हासिल गर्दै आईरहेको छ ।