धनगढी । कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ ।
यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको कैलाली प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दशैं, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिंदै सुरक्षा योजना लागु गरिएको जानकारी दिए । कैलाली जिल्लालाई दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाइएको र एक सय ७३ स्थानमा विशेष टोली परिचालन गरिएको उनले बताए ।
प्रहरीले त्रिनगर भन्सार नाकादेखि टीकापुरसम्म विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ गर्ने, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने विषयलाई समेत सुरक्षा योजनामा समेटेको छ । चाडपर्वका बेला सीमा नाका र बैंक तथा वित्तीय संस्थाहरु हुने स्थानलाई लक्षित गर्दै कडाइको नीति लिएको प्रहरीले जनाएको छ ।
सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर समेत परिचालन गर्ने योजना बनाइएको एसपी अधिकारीले बताए । ड्रोन मार्फत समेत जिल्लाभर निगरानी बढाउँदै शान्ति सुरक्षा कायम गरेर शान्ति पूर्वक तरिकाले चाडपर्व मनाउने वातावरण सिर्जना गरिने प्रहरी जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि चिसापानीदेखि अत्तरिया र अत्तरियादेखि फल्टुडेसम्म टाइम कार्ड लागु गरिने प्रहरीले जनाएको छ ।
चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणसँगै कोभिडको महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा पनि कडाइ गरिनेछ । चाडपर्वका बेला कैलाली जिल्लाभर झण्डै साढे ७ सय प्रहरी परिचालन गरिने बताउँदै प्रमुख प्रहरी उपरीक्षक अधिकारीले सोही हाराहारीमा सशस्त्र प्रहरी पनि परिचालन हुने बताए ।