६ चैत्र २०८०, मंगलवार March 19, 2024

उखु किसानद्वारा ज्ञापनपत्र

७ आश्विन २०७८, बिहीबार
उखु किसानद्वारा ज्ञापनपत्र

राम अवतार चौधरी
कपिलवस्तु ।
कपिलवस्तुका उखु किसानहरू आन्दोलित हुँदै इलाका प्रशासन कार्यालय चन्द्रौटालाई ज्ञापनपत्र बुझाएका छन् । आर्थिक वर्ष २०७१÷७२ को उखुको प्रवर्द्धन बापतको अनुदानको रकम हाल सम्म पनि नपाएको भन्दै दशैँको मुखमा पुनः बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

बिहीबार किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरी सहितको टोलि इलाका प्रशासन कार्यालय चन्द्रौटा पुगी ९ बुदे माग पत्र सहित ज्ञापन पत्र बुझाएका हुन् । सरकारले गरेको सहमति कार्यान्वयन गर्न पटक पटक माग गरे पनि माग पुरा नभएको उनले दुखेसो पोखे । कपिलवस्तु किसान सङ्घले पटक पटक विभिन्न माध्यमबाट सरकारद्वारा सो रकम किसानहरूलाई उपलब्ध गराउन माग गर्दै आएको छ ।

सो रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय र कृषि मन्त्रालयले पालै पालो अर्थ मन्त्रालयलाई पत्रचार गरिसके पनि वास्ता नगरेपछि पुन स्मरणको लागि ज्ञापन पत्र बुझाइएको संघका अध्यक्ष चौधरीले जानकारी दिए ।

कपिलवस्तुको शिवराज नगरपालिका ७ जभावारीमा रहेको महालक्ष्मी सुर्गस मिलका सञ्चालक वीरेन्द्र कनोडियाकै कारणले रकम नपाएको किसानको गुनासो छ । सरकारले राहत स्वरूप उपलब्ध गराउनुपर्ने रकम ६ वर्ष सम्म पनि नपाएको भन्दै कपिलवस्तुका उखु किसानहरू पटक पटक आन्दोलित भएका छन् । राहत स्वरुप सरकारले २ करोड ४८ लाख २३ हजार रुपैयाँ दिनुपर्ने भए पनि नपाएको भन्दै किसान आन्दोलित भएका हुन् ।

आर्थिक वर्ष २०७१÷७२ मा देशभरका उखु किसानलाई सरकारले प्रति क्विन्टल उत्पादन वापत २५ रुपैयाँ अनुदान दिने निर्णय गरेपनि कपिलवस्तुका किसानहरुले भने अहिले सम्म उक्त रकम पाउन सकेका छैनन् ।

उक्त रकमको माग गर्दै अहिले सम्म ३६ पटक काठमाण्डौ पुगेको अध्यक्ष चौधरीले बताए । साथै आगामी कार्तिक ७ गते सम्म माग पुरा नभएमा चरणबद्ध आन्दोलनमा उत्रिने तयारी भएको चौधरीले जनाए । ज्ञापन पत्र बुझ्दै इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माले किसानहरूको माग सम्बोधनको लागि ज्ञापन पत्र यथाशीघ्र सम्बन्धित निकायमा पु¥याउने चौधरीले बताए ।