६ चैत्र २०८०, मंगलवार March 19, 2024

प्राविधिक शिक्षा र सीप विकासका लागि मुख्यमन्त्रीलाई तथ्यांक बुझाइयो

७ आश्विन २०७८, बिहीबार
प्राविधिक शिक्षा र सीप विकासका लागि मुख्यमन्त्रीलाई तथ्यांक बुझाइयो

धनगढी । मुक्तकमलरी विकास मञ्चले प्राविधिक शिक्षा र सीप विकासका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको छ ।
मञ्चका कैलाली जिल्ला र कञ्चनपुर जिल्लाले प्राविधिक शिक्षा र सीप विकासका लागि आ आफनो तथ्याङक संकलन गरी बिहीबार मुख्यमन्त्रीलाई मुक्तकमलरीका विवरण बुझाएका थिए । मञ्चका कैलाली जिल्ला अध्यक्ष विन्द्रा चौधरीले प्राविधिक शिक्षा र सीप विकासका लागि १४ सय ७४ जना मुक्तकमलरीहरुको नामवाली संकलन गरी मुख्यमन्त्री भट्टलाई बुझाएको बताइन् ।
कैलाली जिल्लामा ४ हजार भन्दा बढी मुक्तकमलरी रहेकोमा सरकारी परिचयपत्र मात्र पाएकाहरुको संख्या २५ सय रहेको अध्यक्षले चौधरीले बताइन् ।


एक हप्ता अगाडी मुक्तकमलरीको समस्या र विगतमा सरकारसंग भएको सहमतिबारे जानकारी दिन मुख्यमन्त्री भट्ट र प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनिता चौधरीलाई ज्ञापन पनि बुझाएका थिए । सोही क्रममा एक हप्ताभित्र मुक्तकमलरी विकास मञ्च कैलाली, कञ्चनपुरसँग प्राविधिक शिक्षा र सीप विकासका लागि मुक्तकमलरीका विवरण माग गरिएको थियो ।
मञ्चका कैलाली जिल्ला अध्यक्ष विन्द्राले भनिन्–‘तथ्याङक संकलन गरी बुझाउन हामीलाई एक हप्ताको समय दिएको थियो, समय थोरै भएकोले अरु मुक्तकमलरीहरुको नाम छुटेको छ । हामीले चाडै संकलन गरेर बुझाउनेछौं ।’


त्यसै गरी मञ्चका कञ्चनपुर जिल्ला अध्यक्ष सीता चौधरीले प्राविधिक शिक्षा र सीप विकासका लागि ३ सय ७२ जनाको नामावली बुझाएकी बताइन् । उनी पनि जिल्लामा अरु मुक्तकमलरीको नामावली छुट भएको र बाँकीको नामावली र विवरण चाँडै बुझाउने बताइन् ।
सोही अवसरमा कैलाली कञ्चनपुरमा मञ्चका आफनै भवन नहुदा समस्या भएको बताउदै मुख्यमन्त्रीसंग सोको व्यवस्था गरिदिन माग गरिएको थियो । मञ्चका केन्द्रीय सदस्य शान्ति चौधरी सरकारले मुक्तकमलरीलाई मुक्ति घोषणा गर्दा १० बुँदे सम्झौता गरेको सोको कार्यान्वयन नगरेको बताइन् । उनले भनिन्–‘सरकारले मुक्तकमैया, मुक्तहलियाको तथ्याङक संकलन गरेको तर मुक्तकमलरीको तथ्याङक संचालन नगरी परिचयपत्र वितरण गर्दा धेरै मुक्तकमलरी सरकारी परिचयपत्रबाट बञ्चित रहेका छन् ।’


ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले मुक्त कमलरीको समस्या समाधन गर्न आफु सक्दो सहयोग गर्ने बताए । उनले भने–‘प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारबाट गर्ने प्रयास गर्छौ, केन्द्रबाट हुने समस्या समाधान केन्द्रलाई सिफारिस गरी दवाद दिन्छौँ ।’
मुक्तकमलरी विकास मञ्चको लागि भवन निर्माणको व्यवस्था गर्न सकिने तर जग्गा आफै खोज्नु पर्ने मुख्यमन्त्री भट्टले बताएका छन् । मुक्तकमलरीहरुले सञ्चालन गरेको सहकारीलाई पनि सहयोग गर्न सकिने बताउदै सहकारीको विवरण पनि माग गरिएको छ ।