६ चैत्र २०८०, मंगलवार March 19, 2024

धुरझन्नामा निःशुल्क आँखा जाँच शिविर, ३ सयबढीको आँखा परिक्षण

६ आश्विन २०७८, बुधबार
धुरझन्नामा निःशुल्क आँखा जाँच शिविर, ३ सयबढीको आँखा परिक्षण

कैलाली । धनगढी उपमहानगरपालिका–१७ धुरझन्नाका स्थानीय आफ्नै गाउँमा आँखाको उपचार पाउँदा खुशी भएका छन् ।
बुधबार आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा आँखा उपचार पाउँदा खुशी भएका हुन । गाउँमा आएर स्वास्थ्यकर्मीले आँखाको परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरेपछि खुशी लागेको स्थानीय चक्रबहादुर चौधरीले बताए ।
‘यहाँ उपचार गराउन पाउँदा धनगढी वा गेटा जानू परेन’, उनले थपे । ‘यहाँ औषधि र कसै कसैलाई चश्मा पनि मिलेको छ ।’
धनगढी उपमहानगरपालिका, चौधरी फाउण्डेशन, लायन्स क्लब अफ धनगढी एभ्रेष्ट र च्यारिटी फाउण्डेशनको आयोजनामा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो । शिविरमा प्राविधिक सहयोग धनगढी नेत्रालयले गरेको थियो ।


शिविरमा २२० जना महिला र १२० जना पुरुष गरी ३४० जनाको आँखाको परीक्षण गरिएको र सबैलाई निःशुल्क औषधि पनि दिइएको चौधरी ग्रुपका सुदूरपश्चिम प्रदेश प्रशासक स्माइल चौधरीले जानकारी दिए । उनका अनुसार परीक्षण गरिएकामध्ये ६० जनामा मोतिबिन्दु देखिएकाले अपरेशनका लागि सिफारिस गरिएको छ । धनगढी नेत्रालयमा उनीहरुको निःशुल्क शल्यक्रिया हुने जनाइएको छ । यसैगरी, नजिक देख्न समस्या हुने ७१ जनालाई शिविर स्थानमै निःशुल्क चश्मा प्रदान गरिएको छ ।


शिविरमा वडा नम्बर १७ का पथरी लगायत अरु गाउँका स्थानीयलेसमेत आँखाको उपचार गराएका छन् ।
निःशुल्क आँखा शिविरमा धनगढी नेत्रालयका दृष्टि विशेषज्ञ आशिष पाण्डेयको नेतृत्वमा प्राविधिकहरुको टोलीले आँखा परीक्षण गरेको थियो । यसैगरी, नेत्र सहायकहरु नरेश चौधरी, मेलिना मडै, दीक्षा जोशी, संगीता बम, अप्टिकल सहायक हेमा चन्दले सेवा प्रदान गरेको शिविर संयोजक त्रैलोक्यनाथ पाण्डेयले जानकारी दिए ।
निःशुल्क आँखा शिविरमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, वडा नम्बर १७ का वडा अध्यक्ष माधवराज राना लगायतको उपस्थिति रहेको थियो । सो क्रममा नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको अरु वडामा पनि निःशुल्क आँखा शिविर सञ्चालन गरिने बताए ।