२६ आश्विन २०८१, शनिबार October 12, 2024

संविधानको पूर्ण पालना र कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

३ आश्विन २०७८, आईतवार
संविधानको पूर्ण पालना र कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको अक्षरशःपालनामा राजनीतिक नेतृत्व, सरकार प्रमुख र नेपाली जनता इमान्दार हुनुपर्ने बताएकी छन् ।
संविधान दिवसको अवसरमा उनले लामो राजनीतिक संघर्षबाट प्राप्त संविधानले सामन्ती, निरंकुश, केन्दिकृत, राज्यव्यवस्थाद्धारा सिर्जित सबै प्रकारका असमानता, विभेद र उत्पीडनको अन्त्य गर्दै सहअस्तित्व, न्याय र समानताको माध्यमबाट नेपाली समाजलाई समृद्धिको मार्गमा अगाडी बढाउने लक्ष्य लिएको उल्लेख गरिन् ।
जननिर्वाचित संविधानसभाद्वारा निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको सातौँ बर्ष प्रवेशको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा मन्त्री चौधरीले शुभकामना व्यक्त गरेकी छन् । यसका साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनार्थ अमूल्य जीवन गुमाउनु हुने ज्ञातअज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
साथै मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेश सरकार नेपालको संविधानको पूर्ण पालना र कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएकी छन् । उनले सबै खालका असमानता, वञ्चनाहरुको कानुन र नीतिबाटै सम्बोधन गर्दै लोककल्याणकारी राज्यको अनुभूति गराउने दायित्व पनि प्रदेश सरकारको रहेको बताएकी छन् ।
नेपालको संविधानले सबै नेपालीहरुलाई नेपाली हुनुमा गौरव अनुभूत गराउन सकोस्, राष्ट्र, राष्ट्रियता र बृहत राष्ट्रिय एकता, सामाजिक सद्भावलाई मजबुद बनाउन नेपालको संविधान थप प्रेरक बन्न सकोस्, भन्दै उनले संविधान दिवस २०७८ को सबैमा हार्दिक शुभकामना समेत व्यक्त गरेकी छन् ।