२० मंसिर २०८१, बिहीबार December 5, 2024

नवनियुक्त अर्थमन्त्री तामाङ र राज्यमन्त्री बोहराद्वारा सपथ ग्रहण

१ आश्विन २०७८, शुक्रबार
नवनियुक्त अर्थमन्त्री तामाङ र राज्यमन्त्री बोहराद्वारा सपथ ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन् । यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ राज्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)कै माया तामाङ बोहरालाई नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ ग्रहण गराएका हुन् । भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो ।
तामाङ एमालेका पुर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यसअघि नेकपा विवाद हुँदा ओली पक्षमा थिइन् । उनले २१ भदौमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि राज्यमन्त्रीमा नियुक्त गरिएको हो । माओवादी नेतृत्वको सरकारमा एकीकृत समाजवादी पनि सहभागी छ । एकीकृत समाजवादी प्रदेश सभामा ठूलो दल हो ।
प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद रहेका छन् ।