७ फाल्गुन २०८१, बुधबार February 19, 2025

धनगढीमा सुपथ मूल्य पसल सञ्चालन

७ आश्विन २०८१, सोमबार
धनगढीमा सुपथ मूल्य पसल सञ्चालन

धनगढी, ७ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
आमउपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो । धनगढीमा सोमबार एक कार्यक्रमका बीच खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी प्रमुख इन्जिला बस्नेतले पसलको उद्घाटन गरेकी हुन् ।


दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई सहज र सहुलियत दरमा उपलब्ध गराउन कम्पनीले धनगढी मेनबजार स्थित बिक्री कक्ष र मोहनपुर गोदामबाट सहुलियत पसल सञ्चालनमा ल्याइएको छ ।
सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामलमा प्रतिकेजी रु पाँच रुपिया छुट पाउनेछन् । उपभोक्ताले अरुवा मोटा चामल प्रति केजी ६३ रुपिया पर्नेमा सहुलियत पसलमा छुट पछि प्रतिकेजी ५८ रुपिया र २५ केजीको बोरा रु. एक हजार ४५० मा किन्न पाउनेछन् ।


प्रतिकिलो रु. ९४ रहेको स्टिम जिरा मसिनो चामल छुट पछि प्रतिकिलो रु. ८९ रुपियामा र २५ केजीको बोरा रु. २ हजार २२५ मा किन्न पाउने कम्पनीले जनाएको छ । साथै प्रति किलो रु. ६५ रुपिया पर्ने अरुवा सोना मन्सुली चामल छुट पछि प्रति किलो रु. ६० र २५ केजीको बोरा रु. एक हजार पाँचसय मुल्य पर्ने कम्पनीले जनाएको छ ।
पर्वोत्सव सहुलियत पसलमा करिब एक हजार क्विन्टल खाद्यन्न बिक्री गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।
नेपालीको प्रमुख चाड दसैँ, तिहार र छठका समयमा खाद्य वस्तुको माग अत्यधिक हुने र सो समयमा गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने वातावण तयार गर्ने उद्देश्यले कम्पनीले हरेक वर्ष चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याउने गर्दछ ।