७ फाल्गुन २०८१, बुधबार February 19, 2025

सीमावर्ती बजार चन्दन चौकीबाट नेपाली मजदुर पक्राउ

२५ भाद्र २०८१, मंगलवार
सीमावर्ती बजार चन्दन चौकीबाट नेपाली मजदुर पक्राउ

धनगढी, २५ भदौ । भारतीय वन विभागले काम गर्न गएका नेपाली मजदुरलाई पक्राउ गरेको छ ।
सीमावर्ती भारतीय बजार चन्दन चौकीमा घर बनाउने काम गर्न गएका मजदुर कैलारी गाउँपालिका–३ का ७० वर्षीय सलेफु चौधरी र ३५ वर्षीय सोनु गिरीलाई वन विभागले पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गर्नुको कारणबारे यथेष्ट जानकारी प्राप्त हुन नसके पनि वन क्षेत्रमा पर्ने बजारमा घर बनाउन आएको भन्दै पक्रेर लखिमपुर पु¥याएको स्थानीयले जानकारी दिएका छन् ।
चन्दन चौकी बजार दुधुवा नेशनल पार्क क्षेत्रमा रहेको छ । सो बजारमा गुप्ता मिष्ठान भण्डारको घर बनाउन गएका दुवै मजदुरलाई भदौ १७ गते वन विभागले पक्राउ गरेको स्थानीय जीतबहादुर चौधरीले जानकारी दिए ।
पक्राउ गरेका दुवैलाई जनही नेपाली चार लाख रुपियाँ जरिवाना तोकेको बताइएको छ । वन विभागमा काम गर्ने शिवचरण रानाले दुवै कामदारलाई पक्रेको जनाइएको छ । रानाले सीमा क्षेत्रमा हिँड्दा पनि पक्राउ गर्ने गरेको भन्दै स्थानीयले ज्यादती बढेको बताएका छन् ।
यसैबिच, कैलाली ३ बाट प्रतिनिधित्व गर्नु हुने सङ्घीय सांसद गङ्गाराम चौधरीले दुवै कामदारलाई रिहाइको पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । सदनमा बोल्दै उनले घरको मालिकलाई पक्राउ गर्नु पर्नेमा भारतीय वन विभागले मजदुरलाई पक्रेर जरिवानासमेत तोकेका सदनलाई जानकारी गराए ।