११ माघ २०८१, शुक्रबार January 24, 2025

भदौं २३ गते अँट्वारी पर्व, कैलारीमा दुई दिन स्थानीय बिदा

१८ भाद्र २०८१, मंगलवार
भदौं २३ गते अँट्वारी पर्व, कैलारीमा दुई दिन स्थानीय बिदा

धनगढी, १८ भदौ । पश्चिम नेपालका थारू समुदायले मनाउँदै आएको पर्व अँट्वारीमा कैलारी गाउँपालिकाले दूई दिन स्थानीय विदा दिएको छ ।
थारु समुदायको सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अँट्वारी पर्व यस वर्ष भदौ २३ गते परेको छ । गाउँपालिकाले पर्वको अवसरमा भदौ २३ र २४ गते स्थानीय बिदा दिने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले भदौ २३ गते सार्वजनिक बिदा दिएकोले गाउँपालिकाको निर्णय अनुसार भदौ २४ गते थप १ दिन बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी बताए ।
भदौ २३ र २४ गते कैलारी गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा स्थानीय सार्वजनिक बिदा रहने जनाएको छ ।


हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अँट्वारी पर्व मनाइन्छ ।
अँट्वारी पर्व कुशे औंसी पछिको पहिलो आइतबार र भाद्र शुक्ल पक्षको पहिलो आइतबार थारु समुदायको अँट्वारी पर्व मनाइने गरको थारु अगुवाहरु बताउछन् ।
अँट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो । यो पर्वमा पुरुषहरुले आफ्नो दिदी बहिनीको दीर्घायूको कामना गर्दछन् । कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले पुस्तौंदेखि अँट्वारी पर्व मनाउदै आईरहेका छन् ।
अँट्वारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, अम्बा लगायत अग्रासनका लागि झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ ।
फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ । अँट्वारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ ।