९ चैत्र २०८१, आईतवार March 23, 2025

कैलारीमा बाढी जोखिम न्यूनीकरण परियोजना शुरु

१७ भाद्र २०८१, सोमबार
कैलारीमा बाढी जोखिम न्यूनीकरण परियोजना शुरु

धनगढी, १७ भदौ । कैलालीको कैलारी गाउँपालिकामा बहुउद्देश्यीय विकास समाज, डडेल्धुराले प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिममा बाढी पहिरो प्रभावितलाई सहयोग परियोजना संचालन गर्ने भएको छ ।
बहुउद्देश्यीय विकास समाज डडेल्धुराले पालिकामा परियोजना शुभारम्भ कार्यशाला गोष्ठीको आयोजना गरि उक्त कुराको जानकारी गराएको हो ।


कैलारी गाउँपालिकासंगको समन्वय र किया तथा कोडेडको सहयोगमा बहुद्देश्यीय विकास समाज, डडेल्धुराले पालिकामा प्रकोप जोखिम न्यूनिकरणका लागि सुदूरपश्चिममा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम संचालन गर्न लागेको हो ।
स्थानीय स्तरका सरोकारवाला निकायहरुलाई परियोजनाबारे जानकारी गराई परियोजनाका गतिविधीहरु प्रभावकारी रुपमा कार्यान्वयन गरि स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरणमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त परियोजना संचालन गर्न लागिएको हो ।


गोष्ठीमा परियोजना मार्फत संचालन गरिने गतिविधीहरुको बारेमा परियोजना संयोजक शिवराज पाठकले प्रस्तुतीकरण गरेका थिए । उनले परियोजना मार्फत पालिकामा समुदाय स्तरमा पूर्व तयारीका लागि जनचेतना मुलक कार्यक्रम संचालन, बाढी प्रभावितहरुलाई राहत सामाग्री सहयोग, जोखिम नक्साकंन तथा सर्वेक्षण, बिपद सामाग्री सहयोग, पूर्व सूचना प्रणाली सम्बन्धि अभिमुखीकरण, टास्क फोर्स र समुदायका अगुवाका लागि आत्मरक्षा सम्बन्धि तालिम, वृक्षारोपण तथा वायोईन्जिनियरिङ कार्यहरु संचालन गरिने बताए ।
गोष्ठीमा कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती कुमारी चौधरीले बहुउद्देश्यीय विकास समाज, डडेल्धुराले बाढी तथा विपदमा गरेको कार्य प्रंशसिनय रहेको बताइन् । यस नयाँ परियोजना मार्फत पनि विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने उनले बताइन् । उनले परियोजनालाई लक्षित समुदायमा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने पनि बताइन् ।
कार्यक्रममा कैलारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र राज जोशी, वडा नं ३ का अध्यक्ष सन्तराम चौधरी, वडा नं ५ का अध्यक्ष बिष्णु चौधरी, वडा नं ७ का अध्यक्ष दिपेन्द्र बम लगायतकाले मन्तब्य राखेको थिए ।
कार्यक्रम कैलारी गाउँपालिका वडा नं ४ का अध्यक्ष एंव विपद व्यवस्थापन समिति संयोजक ठागुराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन राजेन्द्र रैकाले गरेका थिए ।